नेपालगञ्ज १० नाइट रनको जर्सी सार्वजनिक

18 Sep, 2024

नेपालगञ्ज १० किमी नाइट रनको जर्सी सार्वजनिक भएको छ। संविधान दिवसको दिन राति आयोजना हुने दौडको मंगलबार जर्सी सार्वजनिक गरिएको हो।

टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषद्का सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरे।

जर्सी सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि दशौंमा दस इभेन्टका बारेमा विस्तृत जानकारी दिए। असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने छ।

यो इभेन्ट बर्षभरि सञ्चालन हुनेछ । दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ।

पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ। असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिने छ ।