पलेशा र प्रशिक्षक नेगीलाई एनसेलले जनही १० लाख दिने

4 Sep, 2024

पारा ओलम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवद्र्धन र उनका प्रशिक्षक कविराज नेगीलाई एनसेलले नगदसहित सम्मान गर्ने भएको छ।

नेपाललाई ओलम्पिककै पहिलो पदकका रुपमा कास्य पदक दिलाएका पलेशा र उनका प्रशिक्षक नेगीलाई एनसेलले जनही १० लाख रुपैयाँसहित सम्मान गर्ने भएको हो।

पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप एनसेलले राष्ट्रिय यो सम्मानको घोषणा गरेको हो।

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताएका छन्। उनले ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव भएको बताउँदै यो जित नेपालको र सम्पुर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा एको उल्लेख गरे।

एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।

यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्दै आएको छ।