महिला साफ च्याम्पियनसिपमा पाकिस्तानमाथि भारतको सानदार जित

17 Oct, 2024

आजबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको महिला साफ च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ। बिहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५-२ को सासनदार जित निकाल्यो।

भारतको जितमा डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले गोल गरे।

खेलको सुरुवातदेखि नै पाकिस्तानमाथि दबाब बनाएको भारतले खेलको पाँचौं मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। यस्तै मनिषा कल्यानले १७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन्।

३५औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले ३-० को अग्रता बनायो। डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा गोल गरेपछि भारत फराकिलो जित तर्फ अग्रसर भयो।

पाकिस्तानले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल फर्कायो। पहिलो हाफको इन्जुरी टाइममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन् । भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन्।

दोस्रो हाफको सुरुमै पाकिस्तानले गोल गर्दै भारतलाई दबाबमा राखेको थियो। ४७ औं मिनेटमा पाकिस्तानकी काएला मारी सिद्दिकीले गोल गर्दै खेल ४(२ को स्थितिमा ल्याइन्।

७८ औं मिनेटमा ज्योति चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् । प्रतियोगितामा सर्वाधिक ५ पटकको उपाधि विजेता भारतले समूह ए मा ३ अंक जोडेको छ।

भारत यो जितपछि सेमिफाइनल नजिक पुगेको छ। समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ।

यस समूहको अर्को खेल आउने आइतबार पाकिस्तान र बंगलादेशबीच हुनेछ। बंगलादेशले पाकिस्तानलाई पराजित गरेमा भारत र बंगलादेश समूह चरणमा खेल्नुअघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्स र नेपाल र भुटानबीच खेल हुनेछ।