महिला विश्वकप क्रिकेटको छनोट स्थगित

आईसीसी महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ । आईसिसीले कोरोनाको महामारीका कारण श्रीलंकामा हुने भनिएको महिला विश्वकप क्रिकेट छनोट स्थगित गरेको हो ।

आईसीसीले मंगलबार श्रीलंकामा ३ देखि ९ जुलाइसम्मका लागि तय भएको छनोट प्रतियोगिता स्थगित गरिएको जनाएको छ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्ड्स, पाकिस्तान, पपुवा न्युगिनी, थाइल्याण्ड, अमेरिका, वेष्ट इण्डिज र जिम्बावेले प्रतिस्पर्धा गर्दै थिए ।

सन् २०२१ मा न्युजिल्याण्डमा हुने विश्वकपका लागि छनोट रहेको यस प्रतियोगिताबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यसैगरी आईसीसीले यू१९ क्रिकेट विश्वकपका लागि युरोपियन छनोट डिभिजन २ समेत स्थगित गरिएको जनाएको छ । सन् २०२२ मा आयोजना हुने यू१९ विश्वकपको लागि उक्त छनोट २४ देखि ३० जुलाइसम्म छनोट डेनमार्कमा हुने तय थियो ।

आईसीसीले स्थगित भएका प्रतियोगिताहरु अब कहिले गर्ने भन्ने बारे सहभागी सदस्य राष्ट्रहरुसँग सहकार्य गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *