नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौं : प्रशिक्षक देसाई

28 Mar, 2024

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन्।

आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले उक्त धारणा राखेका हुन्। नेपालले विश्वकप अगाडि यूएईमा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रशिक्षक देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे। यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ।

डिफेन्डिङ च्याम्पियनका रूपमा एसीसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको प्रशिक्षक देसाईको भनाइ छ । पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने देसाईले बताए।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०र६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए। एसीसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे । क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।