कोरोना कहर : कहिले जाग्ला युरोपियन फुटबल ?

नियमित गतिविधि यथावत् चलिरहेको भए, अहिले पूरै युरोप फुटबलमय भइरहेको हुन्थ्यो । युरोपियन च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर, ला लिगा, बुन्डेस लिगा, सिरी ए, फ्रेन्च लिग वानमा सबै ध्यानकेन्द्रित हुन्थे होला । तर, अहिले युरोप अभतपूर्व संकटको सामना गरिरहेको छ । १२ महिना नै फुटबल गतिविधिमा व्यस्त रहने युरोपमा अहिले सन्नाटा छाएको छ ।

एकै खेलमा ५० हजारभन्दा माथि समर्थक उपस्थित रहने रंगशालाहरू अहिले सुनसान छन् । एक देशबाट अर्को देशमा लिग हेर्न पुग्ने फुटबल कल्चर अहिले कोरोना महामारीमा थलिएको छ । निर्वाध आवजावत हुने युरोपियन देशले अहिले आफ्नो सिमाना बन्द गर्न बाध्य भएका छन् ।

अझ लकडाउनका कारण मानिस घरमा नै बन्धक छन् । फुटबलर होम क्वारेन्टाइनमा छन् । कोरोना महामारीले अनिश्चित भविष्य चाँडै हराउने विश्वासमा घरमै कैद छ, सिंगो युरोप । विश्वका प्रतिष्ठित शीर्ष पाँच लिग खेल्ने सयौँ खेलाडी र उनै खेलाडीबाट आश्रित युरोपको ठूलो अर्थ व्यवस्था अहिले सुनसान छ । शीर्ष क्लबहरू आफैँलाई आगामी भविष्यमा हुन सक्ने आर्थिक संकटले पिरोलेको छ । क्लबलाई मात्र होइन, अब सिंगो युरोप नै कसरी तंग्रिएला भन्ने प्रश्न व्याप्त छ ।

फुटबल गतिविधिबाट प्राप्त हुने अर्बौ डलरले चलेको युरोपियन अर्थतन्त्रले भविष्यका बारेमा सोच्ने फुर्सद पाएको छैन । चर्चित क्लबका खेलाडी आफ्नो तलब कटौती गर्न मन लागी –नलागी तयार भएका छन् । यो कहिलेसम्म रहने सिंगो विश्वलाई थाहा छैन । युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपियन फुटबल महासंघ (युइएफए)ले प्रतिष्ठित च्याम्पियन्स लिग अनिश्चितकालका लागि स्थगित गर्दा आफ्ना ५५ सदस्य राष्ट्रहरूसँग भिडियो कन्फ्रेन्स गरेको थियो ।

अधिकांश देशले युइएफएसँग घरेलु लिग सञ्चालन आगामी दिनमा ठूलो समस्याका रूपमा उदाउने र फुटबल ब्युँतिन समय लाग्नेतर्फ सचेत रहन आग्रह गरेका छन् । धेरै देशले युइएफए अध्यक्ष कफेरिनलाई कोरोनापछिको फुटबलको भविष्य के होला भन्ने प्रश्न गरेका छन् ? तर, उनीसँग यसको उत्तर छैन । समग्र विश्वनै मारमा रहेकावेल उनलाई यसको उत्तर थाहा हुने कुरा पनि भएन ।

उनीसँग सबै सदस्य राष्ट्रलाई हौसला बढाउनुबाहेकको विकल्प थिएन । उनले भने, ‘नसोचेको यो अवस्थाबाट सिंगो विश्व लड्नुपर्ने बाध्यता आएको छ । त्यसैले, अहिले सबैले धैर्यपूर्वक आफ्नो आगामी दिनका बारेमा योजना बनाउनुपर्नेछ ।’

युरोपियन फुटबल पुरानै अवस्थामा ल्याउन महासंघले कुनै कसर बाँकी नराख्ने अलेक्जेन्डरले बताए । तर, अनिश्चित बनेको युरोपको फुटबल गतिविधि मैदानमा पुन कहिले ओर्लिने हो, यसको ठोस जवाफ उनीसँग पनि छैन् ।

कोरोना कति पीडादायी छ भन्ने कुरा इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी खेलाडी पाउलो डिबालाले भोगेका छन् । उनी भन्छन्, ‘कोरोनाको लडाइँमा प्रत्यक्ष भोगाइबाट थाहा भयो, यो कति खतरनाक र पीडादायी छ भनेर । मैले यो क्षणलाई महसुस गरेँ ।’ डिबाला भन्छन्, ‘अहिले युरोप शान्त छ, किनकी, सम्पूर्ण विश्व कोरोनाको चपेटामा छ । मैले आफैँ यो पीडालाई नजिकबाट भोगेको छु । थाहा छैन, यो मुस्किलको समय कहिले सकिन्छ ।’

कोरोनामाथि जित निकालेपछि उनले भने, ‘हरेक पाँच मिनेटमा मलाई सास फेर्न गाह्रो हुन्थ्यो । सास फेर्नकै लागि मैले ठूलो संघर्ष गरेको थिएँ । अहिले समस्यालाई जितेर बाहिर निस्किएको छु । म अहिले प्रार्थना मात्र गर्न सक्छु, सबैको स्वास्थ्य सुध्रियोस्, पहिलो प्राथमिकता मानिसको स्वास्थ्य नै हो ।’

सिंगो युरोपले सुरुमा कोरोना भाइरसलाई हल्का रूपमा लिएका थिए । त्यही भएर बन्द रंगशालामा भए पनि प्रतियोगिता गराउने हिम्मत गरिए । तर, यसको महामारी यति तीव्र बन्यो कि विश्वका ठूला प्रतियोगिताहरू एकपछि अर्को गर्दै निरन्तर स्थगित हुँदै गए, र युरोपियन फुटबल ठप्प भयो ।

अहिले युरोप शोकाकुल छ । हरेक देशका नागरिकहरू अहिले आफन्तको मृत्युमा शोकाकुल छ । सिंगो युरोपले अहिले भयावह अवस्था भोगेको छ । सायद यस्तो अवस्था फेरि नआउला कि ?

(नयाँ पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *