महिला साफ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

विराटनगरमा जारी ५औं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितमा डिफेन्डिङ च्याम्पियन भारत फाइनलमा प्रवेश गरेको छ ।

बुधबार दिउँसो विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । योसँगै भारत प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै लागतार पाचौं पटक फाइनल प्रवेश गरेको छ ।

यसअघिका चारै संस्करणको उपाधि जितेको भारतले फाइनलमा शुक्रबार नेपालसँग खेल्ने छ । भारतले ४ फाइलनमध्ये ३ फाइनलमा नेपाल र एउटामा माल्दिभ्सलाई पराजित गरेको थियो ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई सहज जित दिलाउने क्रममा इन्दूमति काथिरिसानले २ तथा डालिमा चिब्बर र मनिषले १–१ गोल गरे ।

सुरुवातदेखि नै बंगलादेशलाई दबाबमा राखेको भारतले पहिलो हाफमै ३ गोल गरेको थियो । डालिमाले १८ औं मिनेटमा गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

त्यसपछि २२ र ३७ औं मिनेटमा इन्दूमतिले गोल गरेपछि भारतले पहिलो हाफमा ३–० को अग्रता लियो । पहिलो हाफको तुलनामा केही कमजोर प्रदर्शन गरेको भारतले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा चौथो गोल गरेको थियो । उसकी सब्टिच्युट खेलाडी मनिषाले डिबक्सभित्रबाट गोल गरेकी थिइन् ।

भारत समूह बीको विजेताका र बंगलादेश समूह एको उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *