नेपाली राष्ट्रिय पुरुष फुटबल टिम ५ महिनापछि मैदान फर्कँदैछ। ताजकिस्तानसँगको मैत्रीपूर्ण खेलमार्फत नेपाली राष्ट्रिय टिम ५ महिनापछि मैदान फर्कन लागेको हो।
नेपाल र ताजकिस्तानबीचको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ।
विश्वकप र एसियन कप छनोटअन्तर्गत साउदी अरेबियामा यमनविरुद्ध २९ जेठमा खेलेयता यो नेपाली राष्ट्रिय टिमको पहिलो खेल हो।
५ महिनापछि मैदान उत्रन पाउँदा नेपाली उत्साहित छन्, सँगै उनीहरूसँग राम्रो प्रदर्शन गर्ने चुनौती पनि छ। बलियो ताजकिस्तानसँग खेल्दा नेपाली खेलाडी केही दबाबमा भने हुनेछन्।
फिफा वरीयतामा ताजकिस्तान नेपालभन्दा ७१ स्थानमाथि छ। यो खेल नेपाली टिमका अन्तरिम मुख्य प्रशिक्षक नविन न्यौपानका लागि पनि पहिलो हुनेछ।
नेपाली टिम करिब २ साताको प्रशिक्षण पश्चात मैत्रीपूर्ण खेलका लागि ताजकिस्तान पुगेको हो। नेपालले सन् २०१७ पछि ताजकिस्तानसँग खेल्न लागेको हो। त्यो बेला एएफसी एसियन कप छनोटमा दुवै खेलमा नेपाल पराजित भएको थियो।
प्रशिक्षक न्यौपानले ताजकिस्तानविरुद्ध काउन्टर अट्याकमा जोड दिने बताएका छन्।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले ताजकिस्तान बलियो टोली भएको बताउँदै नेपालले कडा मेहनतका साथ संगठीत रुपमा काउन्टर फुटबल खेल्ने बताए। उनले खेलमा थोरै मात्र अवसर आउने बताउँदै त्यसलाई सदुपयोग गर्दै सुखद नतिजा निकाल्ने रणनीति रहेको सुनाए।
नेपाली टिममा नयाँ चार खेलाडी छन् भने कप्तान किरण चेम्जोङ, डिफेन्डर रोहित चन्द, फरवार्ड अञ्जन विष्टजस्ता अनुभवी खेलाडी पनि छन्। नेपाली टिममा डिफेन्डर अनन्त तामाङ र अट्याकिङ मिडफिल्डर लाकेन लिम्बूको अभाव भने खड्कने छ।
पछिल्लो समय राम्रो फुटबल खेलिरहेको ताजकिस्तान राम्रो टोली भएको बताउँदै कप्तान चेम्जोङले ताजकिस्तानका खेलाडी शारीरिक र प्राविधिक रूपमा बलिया भएको बताए।
आफूहरू मानसिकरुमपा ताजकिस्तानविरुद्ध खेल्न तयार रहेको बताउँदै उनले खेल प्रतिस्पर्धात्मक हुने बताए।
नेपालले डुसान्बेमै शनिबार अफगानिस्तानको सामना गर्नेछ ।