ऐतिहासिक पदक विजेता ऐरिका नेपाल आइपुगिन्, विमानस्थलमा भव्य स्वागत

24 Sep, 2024

एसियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेकी कराते खेलाडी एरिका गुरुङ नेपाल आइपुगिकी छिन्। चीनको हाङ्जाउमा आयोजित च्याम्पियनसिपको २०औं संस्करणमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी ऐरिका मंगलबार दिउँसो स्वदेश फर्किएकी हुन्।

६८केजी माथि तौल समूहमा उनले रजत जितेकी हुन्। फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित भएपछि एरिका स्वर्णबाट भने चुकेकी थिइन्। यो प्रतियोगितामा अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन्।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।

नेपाललाई ऐतिहासिक पदक दिलाएर फर्किएकी एरिकालाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। उनलाई बाजागाजासहित स्वागत गरिछ।

उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराल लामालगायतले विमानस्थलमा फुलमाला र खादा लगाएर स्वागत गरेका थिए।