बार्सिलोनाले सुरु थाल्यो ट्रेनिङ

स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरूले ५६ दिनपछि ट्रेनिङ सुरु गरेका छन् । कोरोना भाइरसको त्रासकै बीच लिग सरू गर्ने तयारी स्वरुप स्पेन सरकारले यसै साताबाट क्लबहरुलाई ट्रेनिङका लागि अनुमति दिएपछि बार्सिलोनाका खेलाडीहरू ५६ दिनपछि मैदान फर्किएका हुन् ।

लिग सुरु गर्ने तयारी भएपछि बार्सिलोनाले शुक्रबारबाट ट्रेनिङ थालेको हो । पहिलो दिनको ट्रेनिङमा कप्तान लियोनल मेसी, एन्टोइन ग्रिजम्यान, लुइस सुआरेज, मार्क आन्द्रे टेरस्टेगन, जेरार्ड पिकेलगायत खेलाडी सहभागी थिए ।

मेसीलगायतका खेलाडीहरुले जोन गेम्पर ट्रेनिङ सेन्टरमा एक्ला एक्लै ट्रेनिङ गरेका थिए । स्पेनिस सरकारले अहिले क्लबहरुलाई व्यक्तिगत रुपमा ट्रेनिङ गर्न मात्र अनुमति दिएको छ ।

टे«निङपछि स्पेनिस पत्रिका मार्कासँग कुरा गर्दै मिडफिल्डर अर्टुरो भिडालले आफूहरु सामान्य अवस्थातर्फ गइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई आशा अवस्था यसरी अगाडी बढे चाडै मैदानमा फर्कन सक्नेछौं । हामी पनि मैदान फर्कन आतुर छौं ।’

बार्सिलोनासँगै सेभिया, भिल्लारियल, लेगानेसले पनि शुक्रबारबाटै ट्रेनिङ सुरु गरेका छन् । यी सबै क्लबहरुले खेलाडी लगायत सम्पूर्ण स्टाफको कोरोना परीक्षणपछि ट्रेनिङ सुरु गरेका हुन् ।

यता, अर्को ला लिगा क्लब रियल मड्रिडले भने सोमबार ट्रेनिङ सुरु गर्ने तयारी गरेको छ । उसले ट्रेनिङ सुरु गर्न खेलाडीसहित सम्पूर्ण स्टाफको कोरोना परीक्षण गराएको छ र रिपोर्टको प्रतीक्षा गरिरहेको छ । यदि सबैको रिपोर्ट नेगेटिभ आए सोमबारबाटै रियलले ट्रेनिङ सुरु गर्ने छ ।

कोरोना भाइरसका कारण स्थगित भएको ला लिगा जुन २० बाट सुरु हुने तय भइसकेको छ । बाँकी रहेको लिगका खेल २६ जुलाई सक्ने ला लिगाको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *