विराटनगरको वाइआरसिसि क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।
बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
सिराहाले दिएको १४१ रनको लक्ष्य वाइआरसिसिले ३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो उसका लागि अमित श्रेष्ठको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाएर प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार प्राप्त गरे।
अमित यादवले पनि उत्कृष्ट प्रदर्शन गर्दै अविजित २९ बलमा २ छक्का र ३ चौकासहित ३७ रन बनाए। ओपनर अमिर शेखले ७ बलमा तीव्र गतिले २१ रन जोडे। दिलिप ननथले अविजित ७ बलमा १६ रन र शुभ कंसाकारले १० बलमा १२ रन बनाए।
बलिङमासिराहाका कुस मन्डल र आनन्द कमाईतले टिमका लागि २–२ विकेट लिए।
पहिले ब्याटिङ गरेको सिराहाले १९।३ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो। सिराहाका लागि शैलेन्द्र साहले सर्वाधिक १७ बलमा २७ रन बनाए । चन्दन यादवले १२ बलमा १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले अविजित १२ बलमा १४ रनको योगदान दिए।
बलिङमा विधान गोस्वामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। रामनरेश गिरीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए र नरेन साउदले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।
बिहीबार हुने पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ। शुक्रबार वाइआरसिसीले सिद्धार्थ स्पोर्टिङ क्लबविरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ।
प्रतियोगिताको विजेता टिमले २ लाख १ हजार र उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार पाउने छन्।