चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेटको उपाधिका लागि भारत पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब भिड्ने भएका छन्।
पटना र विराटनगरबीचको उपाधि भीडन्त शनिबार विराटनगरस्थित जुट मिलको खेल मैदानमा हुनेछ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा ११३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरेका थिए।
बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १–१ विकेट लिएका थिए।
पटनाले पाएको ११७ रनको पछ्याउने क्रममा १४ ओभर ४ बलमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पार गरेको थियो । जसमा विक्की रन्जनले ३४ रन, पुरुसोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रनको योगदान गरे । बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश कँडेलले १ विकेट लिए ।
त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगरको वाइआरसीसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै फाइनलमा पुगको छ।
वाइआरसीसीले टस जितेर फिल्डिङ राजेर पहिलो ब्याटिङको अवसर सिद्धार्थलाई दिएको थियो । पहिले ब्याटिङ गरेको सिद्धार्थले १३ ओभर ४ बल खेल्दै अलआउट भएर ७७ रन मात्रै बनाउन सफल भयो। जसमा अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रनको योगदान गरे।
बलिङमा वाइआरसीसीका लागि राम नरेश गिरीले ६ विकेट लिए भने नरेन साउद र अमित श्रेष्ठले समान २–२ लिएका थिए।
७८ रनको विजय लक्ष्य पाएको वाइआरसीसीले ७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै विजयी भयो। जसमा इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए।
बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले समान २–२ विकेट लिएका थिए।
विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्।