ओलम्पिकमा सहभागी हुने खेलाडीलाई गण्डकी सरकारको सम्मान

6 Mar, 2024

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ। मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन्।

सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु रहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्रीले सरकार र खेलाडीबिचको सम्बन्ध खेल खेलिरहेका बेला मात्र नभई सँधै रहिरहोस् भन्ने उद्देश्य रहेको बताए।

‘हिजो राष्ट्रकालागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले उहाँहरुलाई सम्झनुपर्छ भन्ने लागेर प्रदेश सरकारले यो कार्यक्रम संचालन गरेको हो’ मुख्यमन्त्रीले भने।

यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने सरकारको योजना रहेको उनले बताए।