सागका स्वर्ण विजेताले ९ लाख पाउने

मंगलबार सकिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ । घरमै आयोजना भएको सागमा नेपालले कीर्तिमानी ५१ स्वर्ण जितेको थियो ।

सरकारले सागमा नेपाललाई स्वर्ण दिलाउने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ प्रधान गर्ने घोषणा गरेको छ । पदक विजेता खेलाडीलाई सम्मान गर्न बालुटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसैगरी एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । १३औं सागमा पौडीकी गौरिका सिंहले ४, तेक्वान्दोकी आयस शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले २ स्वर्ण जितेका छन् ।

रजत विजेताले ६ लाख रुपैयाँ पाउने छन् भने कांस्य विजेताले ३ लाख रुपैयाँ पाउने छन् । यसैगरी फुटबलमा स्वर्ण दिलाउने खेलाडीले जनही ५ लाख रुपैयाँ पाउने छन् भने अन्य खेलमा टिम इभेन्टमा स्वर्ण विजेताले पनि ५ लाख रुपैयाँ नै पाउने सरकारले घोषणा गरेको छ ।

नेपालले १३औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जितेको थियो । नेपाल सागको इतिहासमा पहिलो पटक दोस्रो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP