मण्डेकाजीलाई मध्यपुरको सम्मान

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा करातेतर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुरथिमि नगरपालिकाले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान गरेको छ ।

सागमा नेपालका लागि स्वर्णको खाता खोलेका मण्डेकाजीलाई मध्यपुर नगरपालिकाले नगर परिक्रमा गराएको थियो । नगरपालिकाले फूलमाला र अविरसहित उनलाई नगर परिक्रमा गराएको हो ।

मण्डेकाजीले अन्तर्राष्ट्रियस्तरसम्म नगरपालिकाको समेत शिर उँचो बनाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । कार्यक्रममा स्वर्णविजेता श्रेष्ठका बुबा बाबुकाजी श्रेष्ठ र आमा मन्दिरा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

नगरप्रमुख श्रेष्ठले खेलकुदमा जितेका पदक राख्न नगरपालिकाले उपहारस्वरूप एउटा दराजसमेत उपलब्ध गराउने घोषणा गरे । १०औँ सागमा छनोट भएर पनि खेल्न नपाएका श्रेष्ठले यसपटक राष्ट्रका लागि पहिलो स्वर्णपदक जितेका थिए । श्रेष्ठले एकल कातामा पहिलो र टिम कातामा दोस्रो स्वर्ण जितेका थिए ।

करातेमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी एक मात्र खेलाडी हुन् । यसअघि दीपक श्रेष्ठले आठौँ र नवौँ सागमा लगातार स्वर्ण जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP