अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल जितबाट वञ्चित

इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल साग पुरुष फुटबलमा जितबाट वञ्चित भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत फुबटलमा बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा गोल खाएपछि नेपालले श्रीलंकासँग अंक बाडेको हो ।

नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे भने श्रीलंका लागि जुडे सुपानले गोल गरेका थिए । खेलको पहिलो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई दबाबमा राखेको थियो । तर, दोस्रो हाफमा भने श्रीलंका अधिकांश समय नेपाललाई दबाब दिएको थियो ।

३६औं मिनेटमा कप्तान सुजलले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । डिबक्समा अनन्त तामाङलाई श्रीलंकन डिफेन्डरले फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरमा सुजलले श्रीलंकन किपर सुजन परेरालाई बिट गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा नेपालले गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । १०औं मिनेटमा अभिषेक रिजालको क्रसमा मिक्छेन तामाङको हेडिङ पोस्टमाथिबाट बाहिरियो । यस्तै, २० मिनेटमा नेपालले राम्रो मुभ बनाएको थियो । उत्कृष्ट स्किल देखाउँदै अभिषेकले दिएको पासमा सुजलको प्रहार श्रीलंका किपरले बचाउ गरेका थिए । ४४औं मिनेटमा अभिशेषकै क्रसमा सुजलले गरेको हेडिङ बाहिरिएको थियो ।

दोस्रो हाफमा नेपाल डिफेन्सिभ भएको थियो । त्यसको फाइदा उठाउँदै श्रीलंकाले नेपालमाथि दबाब दिएको थियो । श्रीलंका बलमा पकड बनाए पनि पोस्टमा आक्रमण भने गर्न सकेन । श्रीलंका चामुद दिल्सानको फ्लिक हेडिङमा किपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए ।

३८औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनमार्क रहेका अनन्तको हेडिङ पोस्टनजिकै बाट बाहिरिँदा नेपालले नेपालले अग्रता लिने सुनौलो अवसर गुमायो । इन्जुरी समयमा डिबक्सबाहिरबाट प्राप्त फ्रिकिमा उत्कृष्ट गोल गर्दै सुपानले नेपाललाई बराबरीमा रोकेका थिए ।

सिंगाल राउन्डरोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपाल र श्रीलंका दुबै अपराजित छन् । अंक तालिकामा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । भुटान ३ अंकसहित दोस्रो स्थानमा छ भने श्रीलंका र माल्दिभ्सले २–२ अंक जोडेका छन् ।

नेपालले पहिलो खेलमा भुटानमाथि ४–०को सहजजित निकालेको थियो । अब नेपालले शनिबार माल्दिभ्स र आइतबार बंगलादेशसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP