हिमालयन शेर्पासँग हारले मच्छिन्द्रलाई धक्का

सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणसम्म मच्छिन्द्र क्लब अपराजित थियो । सातौँ चरणमा मच्छिन्द्रले हिमालयन शेर्पा प्रतिद्वन्द्वी पाएको थियो । लिगको १३औँ स्थानमा रहेको क्लब हिमालयनविरुद्ध अपराजित मच्छिन्द्रका खेलाडी बढी नै आत्मविश्वासी बने । खेलमा कहिले पनि विपक्षीलाई कमजोर आँक्न नमिल्ने तथ्य मच्छिन्द्रका खेलाडीले बिर्सिए ।

यसैको परिणामस्वरूप शुक्रबार मच्छिन्द्र अप्रत्याशित रूपमा हिमालयनसँग २–० ले स्तब्ध भयो । यो नजितासँगै मच्छिन्द्रको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । निरन्तर वर्षापछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मच्छिन्द्र र हिमालयनबीचको खेल दशरथ रंगशालाबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको थियो । एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन भाग्यमानी ठहरियो ।

हिमालयनमाथि सहज जित निकाल्ने अपेक्षा मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले लिएका थिए । तर, आफ्ना खेलाडीले विपक्षीलाई सहज रूपमा लिँदा पराजित हुनुपरेको निष्कर्ष उनले निकालेका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कटवालले हारको मुख्य कारण खेलाडीले विपक्षीलाई सहज लिनु भएको जनाए ।

‘पहिलो हाफमा खेलाडीले हिमालयनलाई सहज आकलन गर्दा दुई गोल भयो, हारको कारण नै त्यही मान्नुपर्छ,’ कटवालले भने । डिफेन्समा देवेन्द्र तामाङ नहुँदा पनि समस्या आएको उनको भनाइ छ । ‘हिमालयनसँग हाम्रो डिफेन्स कमजोर भयो, देवेन्द्र नहुँदा यस्तो समस्या आएको हो,’ उनले भने । हिमालयनका प्रशिक्षक सञ्जीव बुढाथोकीले सुरुवाती अग्रता रक्षा हुँदा तीन अंक बटुल्न सफल भएको बताए । यद्यपि, अघिल्ला खेलमा पनि हिमालयनले राम्रो खेल खेलेको उनको भनाइ छ । ‘हामी सुरुमै नतिजा निकाल्न सफल भयौँ, त्यो पनि रक्षा भयो,’ बुढाथोकीले भने ।

खेल सुरु भएको एक मिनेटभित्रै हिमालयनले मच्छिन्द्रविरुद्ध अप्रत्याशित रूपमा १–० को अग्रता लियो । मच्छिन्द्रका अफ्रिकी डिफेन्डर पिटर सेगुनले विनोद गुरुङको क्रसलाई क्लियर गर्ने प्रयासमा आफ्नै पोस्टमा आत्मघाती गोल गरे ।

२०औँ मिनेटमा मच्छिन्द्र २–० ले पछि रह्यो । विजयी श्रेष्ठले डिबक्सभित्र प्राप्त फ्रिकिकमा आकर्षक हेडिङ गोल गर्दै हिमालयनलाई दोहोरो अग्रता दिलाए । योगेश गुरुङले त्रिदेव गुरुङलाई मैदानको मध्यभागमा लडाएपछि हिमालयनका नीरज बस्नेतले फ्रिकिक प्रहार गरेका थिए । उनकै फ्रिकिकमा विजयीले हेडिङ गोल गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.