चम्किए रेजिन, थ्री स्टारविरुद्ध मच्छिन्द्रको जित

युवा स्ट्रइकर रेजिन सुब्बाले उत्कृष्ट प्रदर्शन गरेपछि बलियो थ्री स्टार क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारलाई २–०ले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मच्छिन्द्रलाई जित दिलाउने क्रममा रेजिन सुब्बा र विशाल राईले समान १ गोल गरे । खेलको दुवै हाफमा मन्छिन्द्रले गोल गरेको थियो ।

दीपक राईलाई रिप्लेस गर्दै २८औं मिनेटमा मैदान छिरेको रेजिनले १० मिनेट नबित्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाए । ३८औं मिनेटमा रेजिनले रञ्जित धिमालको पासमा गोल गरेका थिए । लगत्तै विशाल राईको फ्रिकिक रेजिनको फ्लिक हेडिङ किपर बिट भएको अवस्थामा थ्री स्टारका कप्तान विक्रम लिम्बुले गोललाइनबाट क्लियर गरेका थिए ।

निर्धारित समयको अन्तिम मिनेटमा काउन्टर अट्याक्समा विशाल राईले गोल गरेपछि मच्छिन्द्र २–०ले विजयी भयो । उनले सुजल श्रेष्ठले दिएको पासमा एडलाज सेमेडोको फितलो प्रहार थ्री स्टारको डिफेन्डरले क्लियर गरेको बलमा विशालले गोल गरेका थिए ।

जितसँगै मच्छिन्द्रले ९ खेलमा ६ जित, २ बराबरी र १ हारका साथ १९ अंक जोडेको छ । अघिल्लो सिजन लिग १३औं स्थानमा सकाएकाले मच्छिन्द्रको यसपटक १ अंक घटाइएको छ । ८ खेलमा १७ अंक जोडेको त्रिभुनव आर्मी क्लब दोस्रो स्थानमा छ भने १६ अंक जोडेको मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा छ । थ्री स्टार १४ अंकका साथ चौथो स्थानमै यथावत छ ।

मच्छिन्द्र हारसँगै थ्री स्टार उपाधि होडबाट बाहिरिएको प्रशिक्षक मेघराज केसीले बताएका छन् । उनले आफूहरुले शीर्ष ६ का लागि ध्यान केन्द्रित गर्ने पनि बताए । उनले भने, ‘मच्छिन्द्रविरुद्ध खेलाडीहरुले राम्रै खेले । खेलमा दुवै टिमले राम्रो मुभ बनाउन सकेनौं ।’

यता मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल जितपछि खुसी देखिए । उनी जित्नका लागि मैदान आएको भन्दै आफू सन्तुष्ट भएको बताए । ‘खेलाडीहरुले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरे । हामी राम्रो मुभमात्र बनाउन नसकेका हौं,’ कटुवालले भने, ‘हाम्रो खेलमा अभिषेक रिजल र हेमन गुरुङको अभाव खड्कियो । हामी अझै केही सुधार गर्नुपर्ने ठाउँ छन् । आगामी खेलमा त्यसलाई सुधाछौं ।’

प्रतियोगिता अन्तर्गत मंगलबार हिमालयन शेर्पाले सरस्वती युथ क्लबको सामाना गर्नै छ भने अर्को खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.