लिगको नयाँ च्याम्पियन : आर्मी या मच्छिन्द्र ?

शनिबार शदरथ रंगशलामा यो सिजनको ए डिभिजन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्बल भिड्दै छन् । दिउँसो साढे १ बजेको यो भीडन्तसँगै ए डिभिजन लिगले नयाँ च्याम्पियन पाउने छ ।

यी दुवै टिमको नेतृत्व एन्फाको पहिलो ब्याचका खेलाडीले गरिरहेका छन् । आर्मीको नेतृत्व भरत खवासको काँधमा छ भने मच्छिन्द्रको नेतृत्व विराज महर्जनले गरिरहेका छन् । एक दशक राष्ट्रिय टिममा सँगै खेलेका विराज र भरत दुवैको काँधमा आफ्नो टिमलाई च्याम्पियन बनाउने जिम्मेवारी छ ।

विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्र क्लब र भरत खवासको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लब लिगको अन्तिम खेलमा खेल्दैछन् । यही खेलबाट उपाधि विजेता टुंगो लाग्नेछ ।

शुक्रबार एन्फाले आयोजना गरेको प्रि(म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले अन्तिम खेलको लागि तयार भएको र उपाधि जित्न खेल्ने बताए ।

हुन त लिगमा फाइनल हुँदैन । तर यसपटक लिगको अन्तिम खेलमा अंक तालिकाको शीर्ष दुई टोली रहेको पनि फाइनल जस्तै हुनेछ । १२ खेलबाट २९ अंकसहित आर्मी पहिलो र समान खेलबाट २८ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा छ ।

आर्मीले अन्तिम खेलमा मच्छिन्द्रविरुद्ध बराबरी खेले पनि उपाधि जित्नेछ । मच्छिन्द्रले भने उपाधि जित्न आर्मीलाई हराउनै पर्नेछ । विराजले गत सिजन मनाङ मर्स्याङ्दीको कप्तानका रुपमा लिग उपाधि जितेका थिए । यस पटक उपाधि जित्न अन्तिम खेल जित्नैपर्ने उनले बुझेका छन् ।

आर्मी र मच्छिन्द्र दुवैलाई भोलिको खेल महत्वपूर्ण छ । ‘हामी उपाधि जित्ने लक्ष्यकै साथ खेल्छौं,’ विराजले भने । दुवै टिमका कप्तान एउटै ब्याचको र राष्ट्रिय टिममा पनि सँगै खेलिसकेकाले अहिले फरक क्बलबाट खेल्दा छुट्टै उत्साह रहेको विराज र भरतले बताए ।

यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपाने र मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि एकै पुस्ताका खेलाडी थिए । यी दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि जित्न चाहन्छन् । बराबरीले मात्र लिग जितिने भए पनि अन्तिम खेल जितेरै लिग उपाधि जित्ने लक्ष्य रहेको आर्मीका प्रशिक्षक न्यौपानेले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.