गोलकिपर अर्पण र भारतीय खेलाडी मार्टन च्यासलमा

नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि ललितपुरको च्यासल युथ क्लबले सोमबार य-२३ राष्ट्रिय टिमका कप्तान अर्पण कार्की र भारतीय खेलाडी सेम मार्टनलाई अनुबन्ध गरेको छ । च्यासलले सोमबार नै अनुबन्ध गरेको अर्का खेलाडी सेम मार्टन भारत केरलाका खेलाडी हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा यो सिजन ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । नेपालको उमेर समूहमा सफल कप्तान रहेका अर्पणको कप्तानीमा नेपालले सन् २०१७ मा भुटानमा भएको यु-१९ साफको उपाधि उचालेको थियो ।

उनी नेपालमा २०१९ मा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता पनि हुन् । अर्पणले माल्दिभ्समा जेजे स्पोर्टस क्लब र भुटानमा पारो एफसीबाट लिग खेलेका छन् । यस्तै उनले नेपालमा नेपाल पुलिस क्लबबाट घरेलु लिग पनि खेलेका छन् ।

यस्तै च्यासलले दक्षिण एसियाली साफ कोटामा भारतीय खेलाडी सेम मार्टनलाई अनुबन्ध गरेको हो । भारतीय प्रथम डिभिजनको आई लिग च्याम्पियन रहेका मार्टनलाई च्यासलले चेन्नाइ सिटी फुटबल क्लबबाट भित्र्याएको हो । २६ वर्षीय मार्टनसँग एएफसी कपको पनि अनुभव रहेको छ ।

च्यासलले यसअघि नै साविक विजेता मछिन्द्र क्लबका कप्तान विराज महर्जन, मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ । यस्तै विदेशी कोटामा नेपाली मूलका इटालियन खेलाडी विकास मेराग्लिया तथा क्यामरुनका केत्चा यानिक र माउसा अबागानालाई समेत अनुबन्ध गरिसकेको छ ।

Facebook Comments Box