मनाङको सानदार जित

सहिद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सानदार जित हात पारेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले न्युरोड टिम –एनआरटी)माथि ४–१को सहज जित निकालेको हो ।

यो जितपछि मनाङ २२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । एनआरटी भने १५ अंक जोड्दै आठौं स्थानमा छ । लिगमा २६ जोड्दै त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने १५ अंक जोडेको मच्छिन्द्र क्बल दोस्रो स्थानमा छ ।

मनाङ र एनआरटीको बीचको खेल आइतबार हल्चोकस्थित एपिएफ मैदानमा हुनुपर्ने थियो । तर, मैदान खराब भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल अन्तिम समयमा सोमबारका लागि सारेको थियो ।

मनाङको जितमा अन्जन विष्टले २ गोल गरे भने विमल राना र दयानन्द सिंहले समान १ गोल गरे । मनाङले दुवै हाफमा समान २ गोल गरेको थियो । एनआरटीका सकल रेग्मीले गोल फर्काएका थिए ।

३५औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । ४३औं मिनेटमा अन्जनले गोल गरेपछि मनाङले पहिलो हाफमै २–०को अग्रता लियो । ६५औं मिनेटमा पुनः अन्जनले गोल गरेपछि मनाङले ३–०को अग्रता लियो । ८९औं मिनेटमा एनआरटीका सकलले गोल गर्दै खेललाई ३–१मा ल्याए । तर, इन्जुरी समयको चौथो मिनेटमा भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई ४–१को जित दिलाए ।

ए डिभिजन लिगमा अब २ चरणका खेल बाँकी छन् । लिगको अन्तिम खेलबाहेक सबैखेल अब एन्फा कम्प्लेक्समै हुने छन् । उपाधिको छिनोफानो हुने आर्मी र मच्छिन्द्रबीचको खेल भने दशरथ रंगशालामा हुने छ । आसन्न विश्वकप छनोटको खेलका लागि दशरथ रंगशालामा मर्मत गर्नुपर्ने भएकाले एन्फाले लिगका खेल एन्फा कम्प्लेसक्समा सारेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.