मनाङ र मच्छिन्द्रका खेलाडी एन्फाको कारबाहीमा, जगजित र अशोकलाई पाँच खेलको प्रतिबन्ध

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच खेलमा झगडामा उत्रिएका दुवै क्लबका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेको छ ।

खेल भावनाविपरित कार्य गरेको भन्दै एन्फाको अनुशासन कमिटीले दुवै टिमका ६ खेलाडीसहित ७ जनालाई जरिवानासहित प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लाग्नेमा मनाङका ३ र मच्छिन्द्रका ३ खेलाडी छन् भने मनाङका किट्ड म्यानेजर समेत छन् ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराल सर्वाधिक कडा कारबाहीमा परेका छन् । एन्फाले दुवैलाई ५ खेल र १० हजार जरिवाना तोकेको छ । दुवै अब लिगको अन्तिमका ३ खेलमा मात्र खेल्न पाउने छन् । यसले मनाङलाई उपाधि जोगाउने अभियानमा ठूलो धक्का लागेको छ ।

यसैगरी मनाङकै रञ्जन विष्ट, मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल २ खेलको प्रतिबन्धमा परेका छन् । यस्तै मनाङका किट्स म्यानेजर शिव लामाले लिगका बाँकी सबैखेल गुमाउने छन् भने उनलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

एन्फा अनुसान कमिटीले खेलाडीलाई व्यक्तिगत रुपमा कारबाही गर्नुका साथै मनाङ र मच्छिन्द्रलाई पनि ६० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

लिगको पाँचौँ चरण अन्तर्गत मनाङ र मच्छिन्द्रको खेलमा रेफ्री श्रवण तामाङले खेल समाप्तिको घोषणा गरेपछि जगजितले मच्छिन्द्रका खेलाडीलाई धक्का दिएपछि झगडा सुरु भएको थियो । पाँच मिनेटसम्म दशरथ रंगशालामा दुई पक्षका खेलाडीबीच झगडा भयो । एन्फाले तीन दिनपछि दोषी खेलाडीमाथि कारबाही गरेको जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.