ए डिभिजन क्लबलाई मैदान उपलब्ध गराउने सिलवालको प्रतिबद्धता

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले ए डिभिजन क्लबलाई अभ्यासका लागि मैदान उपब्ध गराउने प्रतिद्धता व्यक्त गरेका छन् । एन्फाले आयोजना गरेको राखेपका नवनियुक्त पदाधिकारीहरुको बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले खेल्ने स्थान नभएका क्लबका लागि मैदान उपलब्ध गराउने जिम्मेवारी आफुले लिने बताए ।

‘धेरै ए डिभिजन क्लबको अभ्यास गर्ने मैदान छैनन् । यदि क्लबहरुले चाहन्छन् भने मैदान उपलब्ध गराउने जिम्मा लिन तयार छु,’ सदस्य सचिव सिलवालले भने, ‘एन्फासँग मिलेर क्लब मैदान बनाउनका लागि जग्गा उपलब्ध गराउँछु ।’

सदस्यसचिव सिलवालले एएफसीको लाईसेन्स प्राप्त गर्न आफ्नै घरेलु मैदान नहुनुलगायतका विभिन्न मापदण्ड नपुग्नु नेपाली फुटबल विकासको बाधक रहेको बताए । सिलवालले नेपाली फुटबलको लागि सबै सहयोगमा जुट्ने प्रतिबद्धता व्यक्त गरे । उनले धादिङ लगायत क्षेत्रमा विभिन्न क्लबको घरुलु मैदान निर्माणमा एन्फासँगको सहकार्यमा काम अघि बढाएको बताउँदै अब ए डिभिजन क्लबलाई घरेलु मैदान र एकेडेमी निर्माणमा सघाउने बताए ।

सदस्य सचिव सिलवालले एएफसीले एन्फालाई कारबाही गरेको समाचार सुन्न नपरोस भन्दै फुटबल संघका पदाधिकारीलाई चेतावनी समेत दिए । उनले फुटबल विकास र सुसाशनमा एन्फासँग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्दै योजनाबद्ध तरिकाले फुटबल विकास अघि बढ्न सुझाव दिए ।

‘तालिका बनाउनुहोस । काम गरौ । एकले अर्कोलाई निषेध गरेर होइन, मिलेर फुटबलको विकास गर्नुपर्छ,’ सिलवालले भने, ‘ग्रास रुटबाटै फुटबल विकास कार्यक्रम ल्याउनु पर्छ । जिल्लामा प्रतियोगिता कागजमा मात्रै नभएर साच्चिकै हुन प¥यो ।’

फुटबल प्रतियोगिता धेरै भएपनि प्रतियोगिताको वर्गिकरण र स्तर निर्धारणमा एन्फा चुकेको उनले बताए । प्रतियोगिताको स्तर निर्धाराणका लागि मापदण्ड बनाउनु पर्ने बताए । सिलवालले मैदानको स्तर, सुरक्षा, म्याच फिक्सिङ नहोस भनेर पनि ध्यान दिनु पर्नेमा जोड दिए ।

सदस्य सचिव सिलवालले विश्वकप छनोट अन्तर्गत नेपालमा हुने खेल निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै नतिजाले देशमा फुटबलको वातावरण धेरै प्रभावित हुने बताए । उनले सबैले सम्मान गर्ने खालको कार्यसमिति बनोस् भन्ने एन्फालाई शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *