मार्टिन्सको गोलमा संकटा विजयी

विदेशी खेलाडी अजयी मार्टिन्सले निर्णायक गोल गरेपछि संकटा क्लबले एक डिभिजन लिगमा महत्वपूर्ण ३ अंक जोडेको छ । आइतबार दशरथ रंगशालामा भएको पहिलो खेलमा मार्टिन्सको गोलमा हिमालयन शेर्पालाई १–०ले हरायो ।

हिमालयन शेर्पाविरद्धको साँघुरो जितसँगै संकटाले शीर्ष ६ भित्र पर्ने आशालाई जिवितै राखेको छ । गत सिजनको उपविजेता संकटा १० खेलमा ४ जित र समान ३ बराबरी खेल्दै १५ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा भने ७ अंक जोड्दै १२औं स्थानमा छ ।

लिगमा २२ अंक जोड्दै मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ भने २० अंक जोडेको त्रिभुन आर्मी क्लब दोस्रो र १९ अंक जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छन् । आर्मी र मनाङले १ खेल कम खलेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा मार्टिन्सले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । उनले क्षितिज राजको पासमा गोल गरेका थिए । मार्टिन्स खेलको म्यान अफ दी म्याच घोषित भए ।

खेलमा बल पोजेसन राम्रो बनाए पनि हिमालयन शेर्पाले संकटाको पोस्टा राम्रो आक्रमण गर्न सकेन । उसले खेलमा १ सटमात्र टार्गेटमा प्रहार गरेको थियो । यता, संकटाको भने ४ सट टार्गेटमा थियो ।

आइतबारकै दोस्रो खेलमा दुई विभागीय टिम भिड्ने छन् । केही बेरमा सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.