‘टप थ्री’मा फर्कियो थ्री स्टार

नेपाली फुबटलको सफलमध्येको एक क्लब थ्री स्टार जारी सहिद स्मारक एक डिभिजन लिगको आठौं चरणमा आएर ‘टप थ्री’मा फर्किएको छ । लिग सुरु हुनु ठीकअघि आफ्ना स्टार खेलाडीले क्लब छाडेपछि कमजोर बनेको थ्री स्टार आठौं रचणमा हिमालयन शेर्पालाई हराउँदै शीर्ष तीनमा फर्किएको हो ।

बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ हरायो । यसअघि बलियो मच्छिन्द्र क्लबलाई हराएको र मनाङ मस्र्याङ्दीलाई बराबरीमा रोकएपछि उत्साहित हिमालयन शेर्पाले थ्री स्टारविरुद्ध सोही लयलाई सामात्न सकेन ।

शेर्पाविरुद्धको जितसँगै थ्री स्टार ८ खेलमा ४ जित, २ हार र २ बराबरीसहित १४ अंक जोडेको छ । फ्रेन्ड्स भने ८ अंक जोड्दै १०औं स्थानमा छ । समान १६–१६ अंक जोड्का त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब शीर्ष दुईमा छन् । १३ अंकका साथ डिफेन्डिङ च्याम्पियन मनाङ चौथो स्थानमा छ । आर्मी र मनाङले एक खेल कम खेलेका थिए ।

थ्री स्टारको जितमा सुशील राई, संजोग राई र ओलानडिरन हजमतले समान १ गोल गरे । हिमालयन शेर्पाका स्टेफन समिरले सान्त्वना गोल गरे ।

खेलको छैठौं मिनेटमा सुशीले लाल रम्मावराको पासमा गोल गर्दै थ्री स्टारलाई सुरुवातमै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेललाई बराबरीमा ल्याए । इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफनले गोल गरेका थिए ।

इन्जुरी सयमै थ्री स्टार पुनः अग्रता बनायो । इन्जुरी समयको तेस्रो मिनेटमा संजोगले गोल गरेका थिए । ५०औं मिनेटमा हाजमतले गोल गर्दै थ्री स्टारलाई ३–१को अग्रता दिलाए । उनले निशान खड्काको पासमा उत्कृष्ट गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा थ्री स्टारले सहज जित निकाल्यो ।

खेलप्रति दुवै टिमका प्रशिक्षक खुसी देखिएनन् । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले तीन अंक आए पनि खेल रौनकबिहीन निरस भएको प्रतिक्रिया दिए । उनले प्रतियोगितामा एकै किसिमको खेल खेल्न नसकेको बताउँदै टिममा अझै धेरै कुरा साधार्नु पर्ने बताए ।

हिमालयन शेर्पाका प्रशिक्षक संजीव बुढाथोकीले खेलाडी सोचेजस्तो नखेलेको भन्दै उनीहरुको खेल अनुहासित नभएको बताए । गोल गर्ने अवसर हुँदा हुँदै पनि खेलाडी बढी जान्ने बन्दा पराजित हुनु परेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.