उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीको संयुक्त आयोजनामा सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेफका अध्यक्ष नारायण रोकाले बताए।
प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी डेनमार्कमा जुलाइमा हुने डाना कप यु–१६ फुटबल प्रतियोगितामा सहभागी गराइने जानकारी नेफका सचिव टंककुमार चापागाईंले दिए।
फुटबलको मुख्य प्रायोजक समेत रहेको ऋत एकेडेमीले ३० जना उत्कृष्ट खेलाडीलाई ऋतमा प्लस टु अध्ययन गर्न जनही ६० हजार बराबरको छात्रवृत्ति दिने ऋतका संयोजक खेमनाथ पौडेलले बताए।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान छ। पुस १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु चाबहिल गणेशथान मैदानमा हुनेछ।
पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, एनप्याब्सन वाग्मतीका उपाध्यक्ष डीएन महतो र नेफका सदस्य सुगन्धराज रेग्मीले प्रतियोगिताले प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए ।