एसिया कप खेल्ने नेपालको सपना बुधबार साकार हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । पाकिस्तान र भारतजस्ता क्रिकेट महारथी राष्ट्रहरूसँगको प्रतिस्पर्धाले नेपाली टोलीमाथि संसारभरिका क्रिकेटप्रेमीको नजर पर्नेछ ।
पन्जाबको मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३स्१५ बाट खेल सुरु हुनेछ । ३५ हजार दर्शकले रंगशालामा उपस्थित भई तथा संसारभरका क्रिकेटप्रेमीले प्रत्यक्ष प्रसारणमार्फत एसिया कपमा नेपालको डेब्यु म्याच हेर्नेछन् ।
रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले पाकिस्तानका ख्यातिप्राप्त ब्याट्सम्यान र बलरलाई चुनौती दिने नेपाली क्रिकेटप्रेमीको अपेक्षा छ।
एसिया कपमा पुगेपछि नेपाली टोलीबाट धेरै अपेक्षा राखिएको जनाउँदै कप्तान रोहित पौडेल बताउँछन्। ‘सबै नेपालीले एसिया कपलाई लिएर सपना देखिरहेका थिए । नेपालले साढे दुई दशकभन्दा बढी समयदेखि खेल्दै आएको छ,’ उनी भन्छन्, ‘एसिया कप हामी सबैको सपना थियो, एसिया कप जस्तो माथिल्लो स्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो अवसर हो ।’
सोमपाल कामी भने नेपाली क्रिकेटको विश्वकप र एसिया कप खेल्ने दुवै पुस्तालाई प्रतिनिधित्व गर्नेछन् । टी–२० विश्वकपमा प्रतिघण्टा १ सय ४० को गतिमा बल फालेर चर्चामा आएका सोमपालका लागि एसिया कप एक हिसाबले एकदिवसीय अन्तर्राष्ट्रियमा यो पुनरागमनजस्तै हुनेछ।
जुनमा जिम्बावेमा भएको विश्वकप छनोटको सुरुआती खेलमा औंलामा चोट लाग्दा उनले प्रतियोगिताका थप खेल्न सकेका थिएनन्। जुलाईमा श्रीलंकामा भएको इमर्जिङ नेसन्स एसिया कपमा उनले नै बनाएको ७५ रनमा नेपालले पाकिस्तान ‘ए’ विरुद्ध ३७ ओभर खेल्दै १ सय ७९ रन बनाउन सकेको थियो।
नेपालको तीव्र बलिङमा सोमपालसँगै करण केसी र गुलसन झामाथि ठूलो विश्वास गरिएको छ। इमर्जिङ एसिया कपमा पाकिस्तान ‘ए’ सँगै धर्मराएको नेपाली ब्याटिङलाई तीव्र गतिको प्रभावकारी बलर रहेको पाकिस्तानलाई झेल्नु त्यति सहज हुने छैन।
उनीहरुसँगै कुशल भुर्तेल, कप्तान रोहित र दीपेन्द्रसिंह ऐरीबाट नेपाली नेपाली टिमले ठूलो अपेक्षा गरेको छ।
विकेट राम्रो भएको र नेपालले आफ्नो योजनाअनुसार खेल्न चाहेको रोहितले जनाए। कडा सुरक्षाका साथ मुल्तानमा एसिया कपको उद्घाटन खेल हुन लागेको छ । नेपाली टोली उच्च सुरक्षाका साथ मात्र मैदानबाट होटल जाने गरेको छ ।
सन् २०१४ मा ट्वान्टी–२० विश्वकप खेल्नु नेपाली क्रिकेटको सबैभन्दा ठूलो सफलता थियो । बंगलादेशमा भएको त्यो विश्वकप टेलिभिजनमा हेरेर हुर्किएका पुस्तामध्येमा रोहितसहित अहिले धेरै नेपाली टोलीमा छन् । पाकिस्तान र भारतजस्ता प्रतिद्वन्द्वीसँग एसिया कपमा खेल्न लागेकाले नेपाली क्रिकेटमा यो एउटा अर्को अनुपम कोसेढुंगा हो।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेटका दिग्गज राष्ट्रसँगको प्रतिस्पर्धालाई हार वा जितभन्दा पनि सिक्ने अवसरका रूपमा लिनुपर्ने बताए । ‘नतिजा हाम्रो पक्षमा नहोला, तर भारत र पाकिस्तानसँगको खेलमा खेलाडीले धेरैभन्दा धेरै अनुभव लिनुपर्छ,’ उनले कराँचीमा स्थानीय पत्रकारलाई प्रतिक्रिया दिएका छन्, ‘त्यसकारण प्रतियोगितालाई पनि अवसरकै रूपमा लिएको छु ।’
प्रतियोगिताबाट नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेले आफ्नो ५०औँ एकदिवसीय खेल पूरा गर्दै छन् । त्यस्तै, तीन ब्याट्सम्यान एकदिवसीय खेलमा हजार रन पूरा गर्ने स्थितिमा छन् ।