पहिलो एकदिवसीय न्युजिल्यान्डले भारतलाई हरायो

न्युजिल्यान्ड भ्रमणमा रहेको भारत एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिमसँग पराजित भएको छ । बुधबार ह्यामिल्टनमा भएको खेलमा भेट्रान ब्याट्सम्यान रोस टेलरले शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले भारतलाई ४ विकेटले हराएको हो ।

पहिला ब्याटिङ गर्दै भारतले दिएको ३४८ रनको लक्ष्य न्युजिल्यान्डले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका लागि रोस टेलरले १०९ बनाए । यस्तै, हेनरी निकल्सले ७८ र टम लाथमले ६९ रन बनाए ।

टेलरले ८४ बल खेल्दै १० चौका ४ छक्का प्रहार गरे भने निकोल्सले ८२ बल खेल्दै ११ चौका प्रहार गर्दा लाथमले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरे । भारतका कुलदिप यादवले २ तथा मोहम्मद सामी र शार्दुल ठाकुरले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाएर ३४७ रन बनाएको थियो । उसका लागि श्रयस ऐयरले १०३ रनको शतकीय इनिङ्स खेले भने केएल राहुलले नटआउट ८८ र कप्तान विराट कोहलीले ५१ रन बनाए ।

ऐयरले १०७ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे भने राहुलले ६४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । यस्तै कोहलीले ६३ बल खेल्दै ६ चौका प्रहार गरे । न्युजिल्यान्डका टिम साउदीले २ र कोलिन डे ग्रान्डहोम र इस शोधीले समान १ विकेट लिए ।

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल फेब्रुअरी ८मा अकल्यान्डमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *