समूह विजेता हुँदै सुदूरपश्चिम सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेश मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इनरुवा मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको समूह डीमा आइतबार सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि नौ विकेटको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

समूहमा अपराजित रहेको सुदूरपश्चिमले दुई खेलबाट सर्वाधिक चार अंक बटुलेको छ । सुदूरपश्चिमले पहिलो खेलमा मलेसियन टोलीलाई हराएको थियो ।

पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेश सुदूरपश्चिमविरुद्ध ब्याटिङमा चुक्यो । विनोद लामाले घातक बलिङ गरेपछि गण्डकी २३.३ ओभरमा ६४ रनमै अलआउट भयो । सहज लक्ष्य पछ्याएको सुदूरपश्चिमले १०.२ ओभरमा एक विकेटको नोक्सानीमा ६७ रन जोड्दै सानदरा जित निकाल्यो ।

ओपनर गजेन्द्र बोहरा र खडक बोहराले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । सुदूरपश्चिमको जितमा गजेन्द्रले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३१ बलमा सात चौका प्रहार गरे । त्यसपछि खडक र अरुण ऐरीले दोस्रो विकेटका लागि १६ रनको नटआउट साझेदारी गर्दै सुदूरपश्चिमलाई २२० बलअघि नै जित दिलाए । खडकले २४ बलमा १६ तथा अरुणले आठ बलमा १० रन योगदान दिए ।

बायाँहाते अर्थोडक्स स्पिनर विनोदले गण्डकीविरुद्ध घातक बलिङ गरेका थिए । उत्कृष्ट फर्ममा रहेका विनोदले गण्डकीको ब्याटिङ इनिङ्समा सात ब्याट्सम्यानलाई आउट गरे । उनले ९.३ ओभरमा दुई मेडनसहित १४ रन खर्चेका थिए ।

विनोदले आफ्नो बलिङ स्पेलमा ४९ बल डट फ्याँके । गण्डकीको ब्याटिङमा सर्वाधिक १७ रन बनाएका किशोर महतोको विकेट पनि उनले नै लिएका थिए । किशोरले १८ बलमा चार चौका प्रहार गरे ।

विनोदको स्पिनसामु टिक्न नसकेको गण्डकीका ब्याट्सम्यानले प्रतियोगिताकै कमजोर प्रदर्शन गरे । गण्डकीका नौ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन ब्याट्सम्यानले खाता नै खोलेनन् । गण्डकीले २.२ ओभरमा पहिलो विकेट गुमाएको थियो । विनोद बलिङमा आएपछि गण्डकीको ब्याटिङ इनिङ्स धेरैबेर टिकेन । सो इनिङ्समा सेर मल्लले २५ रन खर्चेर दुई विकेट लिए ।

गण्डकीले १५.२ ओभरमा ६ विकेट गुमाएर ४२ रन जोडेको थियो । गण्डकीले १६.४ ओभरमा ५० रन बनाएको थियो । सुदूरपश्चिमले लक्ष्य पछ्याएको इनिङ्सको पहिलो पावरप्लेमा ६३ रन जोडेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.