
को–को छन् आईपिएलको मेगा अक्सनमा नाम दर्ता गराउने नेपाली क्रिकेटर ?
आईपिएलको नयाँ संस्करणका लागि यो पटक मेगा अक्सन आयोजना हुँदैछ । मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा बेंग्लोरमा आयोजना हुँदैछ ।
मेगा अक्सनका लागि आईपिएलले शनिबार मात्र खेलाडीको लिस्ट सार्वजनिक गरेको छ। अक्सनमा कुल १२१४ खेलाडी सहभागी हुनेछन्।
ती खेलाडीमध्ये १५ खेलाडी पनि छन्। आईपिएलमा पहिलो पटक यतिधेरै नेपाली खेलाडी सहभागी भएका हुन्। एसोसिएटतर्फ अक्सनमा नेपालका सर्वाधिक खेलाडी दर्ता गराएका हुन्।
मेगा अक्सनमा सहभागी हुनेमा राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेदेखि सन्दीप जोरासम्म छन्। दुई सन्दीपसँगै सेख दाजुभाइ आरिफ र आसिफ, पवन सर्राफ, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराएका छन्।
यसअघि सन्दीप लामिछानेबाहेक कसैले पनि आईपिएलको अक्सनमा भाग लिएका थिएनन्। सन्दीपले दिल्ली क्यापिटल्सबाट लागतार तीन सिजन आईपिएल खेलेका थिए भने अघिल्लो सिजनमा भने सन्दीपलाई कुनै टिमले किनेका थिएनन्।
मेगा अक्सनका नाम दर्ता गराएका कुल १ हजार २ सय १४ खेलाडी मध्ये भारतका ८ सय ९६ र ३ सय १८ विदेशी खेलाडी छन् ।
अक्सनका लागि अस्ट्रेलियाका सर्वाधिक ५९ खेलाडीले नाम दर्ता गराउँदा दक्षिण अफ्रिकाका ४८, वेस्टइन्डिजका ४१, श्रीलंकाका ३६, इंग्ल्यान्डका ३०, न्युजिल्यान्डका २९ र अफगानिस्तानका २० खेलाडीले नाम दर्ता गराएका छन्।