पिएम कप क्रिकेट : सुदूरपश्चिममाथि आर्मीको जित

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३ विकेटको जित निकाल्यो ।

आर्मीको यो दोस्रो जित हो । आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक–एक अंक बाँडेको थियो ।

११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा ७ विकेट विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए भने विक्रम सोबले अविजित २९, भीम सार्कीले १३ रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए । यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए ।

बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एक्लैले ६ विकेट लिए । चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे । यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक एक विकेट लिए।

Facebook Comments Box