आर्मी एमएम कपको फाइलनमा

विभागीय टोली त्रिभुवन आर्मी क्लब मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ६४ रनले पराजित गर्दै आर्मी उपाधितर्फ अग्रसर भएको हो ।

आर्मीले अब उपाधिका लागि शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोली दोस्रो सेमिफाइनल खेलमा बिहीबार प्रतिस्पर्धा गर्दै छन् ।

इनरुवा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले ४६.३ ओभरमा सबै विकेट गुमाउनुअघि २१६ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा बागमती प्रदेश ३८.१ ओभरमा १५२ रनमै समेटियो ।

आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार मण्डलले ४३ रन योगदान दिए । उनले ७३ बलमा तीन चौका ठोके । यसैगरी, कुशल मल्लले २६ बलमा ३७ रन जोडे । मल्लले चार चौका प्रहार गरेका थिए । आर्मीका रोहितकुमार पौडेलले २९, विक्रम सोबले २४, भीम सार्कीले १५ र सुसन भारीले १३ रन जोडे ।

बलिङतर्फ एक विकेट लिएका कुशल म्यान अफ द म्याचसमेत चुनिए । उनीबाहेक सुसन भारीले तीन तीन र साहब आलमले दुई विकेट लिए । यस्तै, विक्रम सोब, हरिबहादुर चौहान र हरिकृष्ण झाले समान एक विकेट लिए ।

बागमतीका लागि सोनु तामाङले ७४ रनको अर्धशतकीय योगदान दिए पनि जित सम्भव भएन । सोनुले आफ्नो इनिङ्समा ६ छक्का र चार चौका प्रहार गरेका थिए । ईशान पाण्डेले १७ र कप्तान सुवास खकुरेलले १५ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका गौतम केसीले चार विकेट लिए । तिलक भण्डारी, नन्दनकुमार यादव र ईशान पाण्डेले २–२ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.