बंगलादेशलाई ९ विकेटले हराउँदै पाकिस्तानले जित्यो टि–२० सिरिज

लाहोरमा भएको दोस्रो टि–२०मा बंगलादेशलाई हराउँदै पाकिस्तानले टि–२० सिरिज जितेको छ । शनिबार भएको खेलमा बाबर अजम र मोहम्मद हाफिजले उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तानले ९ विकेटले हरायो । यसअघि भएको पहिलो टि–२०मा पाकिस्तान ५ विकेटले विजयी भएको थियो ।

बंगलादेशले दिएको १३७ रनको लक्ष्य पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । उसका लागि अजम र हाफिजले दोस्रो विकेटका लागि नटआउट १३१ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । हाफिजले ६७ रन बनाए भने अजमले ६६ रन बनाए ।

हाफिजले ४९ बलमा ९ चौका र १ छक्का प्रहार गरे भने अजमले ४४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । अहसन अली भने डकआउट भएका थिए । बंगलादेशका सफिउल इस्लामले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बंगालदेशले तमिम इक्वालको अर्धशतक मद्दतमा ६ विकेट गुमाउँदै १३६ रन बनायो । उत्कृष्ट इनिङ खेलेका इक्वालले ५३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै अफिफ हुसेनले २१ र कप्तान ममदुल्लाहले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद हसनइनले २ विकेट लिए भने शाहिन साह अफ्रिदी, ह्यारिस रउफ र शादब खानले समान १ विकेट लिए ।

यी दुईबीचको तेस्रो टि–२० सोमबार लाहोरमा हुने छ । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले १ ओडिआई र २ टेस्ट खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.