चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा शुक्रबार पुरुष क्रिकेट प्रतियोगितामा स्वर्ण जितेको छ । महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो ।
चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो । निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो।
चितवनका बलरले उत्कृष्ट बलिङ गरेपछि ललितपुरका ब्याटर लामो समयसम्म क्रिजमा टिक्न सकेनन्। चितवनका बलर दिवस आचार्यले पाँच विकेट लिँदै ललितपुरको इनिङ धरासयी बनाए । उनले चार ओभरमा १५ रन मात्र खर्चिए।
दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट लिँदै ललितपुरलाई सस्तैमा रोके।
ललितपुरका विवेक रानामगर २७ रनमा नटआउट रहँदा ओपनर आशुतोष घिरैया २५ रन, रोनिम तिवारीले १६ रन र आरस तामाङले १४ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल जोड्यो। निकै खराब सुरुआत चितवनले २।१ ओभरमा नै दुई विकेट गुमाउँदा ११ रन मात्र जोडेको थियो।
ललितपुरका बलर प्रसिद्ध बज्रचार्याले ओपनर साकार ढकाल ४ रनमा र सन्तोष न्यौपानेलाई १ रनमा पवेलियन फर्काउँदै चितवनलाई ठूलो झड्का दिए । यद्यपि, तेस्रो विकेटका लागि ओपनर पाल्देन लामा र जेनिस महतले ५३ रनको अर्धसतकीय साझेदारी गर्दै इनिङ समाले । गौतम केसीले ३६ रन, पाल्देनले ३४ रन र जेनिस र प्रतीक श्रेष्ठले समान ३२ रन जोडेपछि घरेलु टोलीले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो।
ललितपुरका बलर प्रसिद्धले तीन विकेट लिँदा विवेक रानामगरले दुई तथा युनिस थापा र आदिल खानले एक विकेट लिए । प्रतियोगितामा काठमाडौंका इसान पाण्डे प्लेयर अफ दी सिरिज भए । काठमाडौंकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याटर घोषित भए।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यलय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कृत गरे।