काठमाडौं महानगरपालिकका मेयर बालेन शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्ता भएको छ।
आजको भेटमा काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने सहमति भएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै क्रिकेट नेटको व्यवस्था गर्न लागिएको बताए।
‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन। कारण काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो,’ उनले लखेका छन्, ‘स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो। त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौं ।’
कुशल प्रशिक्षकको पनि अभाव रहेको जनाउँदै बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल जिरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन्।
उनले यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने, ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने पनि बताएका छन्।