धोनी बिसिसिआईको कन्ट्याक्टमा परेनन्, कन्ट्याक्टमा हुनेले कति पाउँछन् ?

भारतका लिजेन्ट क्रिकेटर महेन्द्रसिंह धोनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)को कन्ट्याक्टबाट बाहिरिएका छन् । बिहीबार बिसिसिआईले सार्वजनिक गरेको खेलाडी कन्ट्याक्ट सूचीमा धोनीसँगै ३ खेलाडी पनि पर्न असफल भएका छन् ।

योसँगै धोनीको अन्र्तराष्ट्रिय क्रिकेटमा पुनरागमनको सम्भावनामा कठीन बनेको छ । ६ महिनादेखि भारतीय क्रिकेट टिममा नरहेका धोनीलाई बिसिसिआईले कन्ट्याक्ट लिस्टबाट हटाएपछि धोनीको पुनरागमन संकटमा परेको हो ।

६ महिनादेखि टिमबाट बाहिर रहेको र आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरका बारेमा धोनीले स्पष्ट धारण बनाइनसकेकाले उनलाई कन्ट्र्याक्ट लिस्टबाट बाहिर राखिएको बिसिसिआईले जनाएको छ । यसअघि धोनी ए श्रेणीमा थिए ।

धोनीसँगै बिसिसिआईले बिहीबार सार्वजनिक गरेको कन्ट्याक्ट सूचीबाट ३ खेलाडी बाहिरिएका छन् भने ५ नयाँ खेलाडी सूचीमा थपिएका छन् । कन्ट्याक्टबाट बाहिरिनेमा धोनीसँगै विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिक र अम्बाती रायाडु छन् ।

कन्ट्याक्ट सूचीमा थपिने खेलाडीमा दीपक चाहर, श्रेयर ऐयर, शार्दुल ठाकुर, नवदीप सैनी र मयंक अग्रवाल छन् । जसमा यो वर्ष टेस्टमा भारतका लागि सर्वाधिक रन बनाएका मयंक बी ग्रेडमा परेमा छन् भने चहर, ऐयर, ठाकुर र सैनी सी ग्रेडमा छन् ।

बिसिसिआईको कन्ट्याक्ट सूचीबाट बाहिरिएसँगै विस्फोटक विकेटकिपर ब्याट्सम्यान धोनीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर लगभग सकिएको अनुमान गरिएको छ । गत वर्ष इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतीय टिमबाट बाहिर रहेका धानीको राष्ट्रियमा पुनरागमन निकै कठीन बनेको छ ।

भारतीय टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीले केही दिनअघि मात्रै धोनीले आसन्न टी–२० विश्वकप खेल्ने चाहेको बताएका थिए । शास्त्रीले ‘धोनी एकदिवसीय क्रिकेटबाट सन्न्यास लिँदै टी–२० क्रिकेटमा मात्र फोकस हुन चाहेको’ बताएका छन् । तर, बिसिसिआईको कन्ट्याक्टबाट बाहिरिएसँगै धोनीको टी–२० विश्वकप खेल्ने चाहना तुहिने सम्भावना बढेको छ ।

प्रत्येक वर्ष राष्ट्रिय टिमबाट खेलका खेलाडीहरुलाई ४ श्रेणीमा विभाजन गर्दै बिसिसिआईले खेलाडीलाई तलब दिने गर्छ । बिसिसिआईले बिहीबार सार्वजनिक गरेको कन्ट्याक्ट सूचीमा २७ खेलाडी परेका छन् । ए प्लस श्रेण्ीमा ३ खेलाडी छन् । यस्तै ए श्रेणीमा ११ खेलाडी छन् भने बीमा ५ र सीमा ७ खेलाडी छन् ।

कुन श्रेणीमा को–को ?

ए प्लस : विराट कोहली, रोहित शर्मा, जस्प्रित बुमराह ।

ए : रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का रहाने, केएल राहुल, शिखर धवन, मोहम्मद सामी, इशान्त शर्मा, कुलदीप यादव, ऋषव पन्त ।

बी : ऋद्धिमन साह, उमेश यादव, युजभेन्द्र चहल, हार्दिक पाण्ड्या, मयंक अग्रवाल ।

सी : केदार जाधव, नवदीप सैनी, दीपक चहर, मनिष पाण्डे, हनुमान बिहारी, शार्दुल ठाकुृर, श्रेयस ऐयर, वासिंटन सुन्दर ।

कुन श्रेणीका खेलाडी कति पाउँछन् ?

बिसिसिआईको ए प्लस श्रेणीमा परेका खेलाडीले वार्षिक ७ करोड भारतीय रुपैयाँ पाउने छन् । यस्तै ए श्रेणीका खेलाडीले ५ करोड रुपैयाँ पाउने छन् भने बी श्रेणीमा रहेका खेलाडीले ३ करोड र सी श्रेणीका खेलाडीले १ करोड भारतीय रुपेयाँ पाउने छन् ।

फेरि कट्याक्टमा फर्कन सक्छन् धोनी

बिसिसिसीआईले बिहीबार सार्वजनिक गरेको कन्ट्याक्ट सूचीमा धोनीको नाम छैन । तर, उनी फेरि कन्ट्याक्टमा फर्कन सक्छन् । टी–२० विश्वकप खेल्ने चाहना राखेका धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए उनी ‘प्रो राटा’ नियमका आधारमा पुनः कन्ट्याक्टमा आउन सक्छन् । तर, त्यसका लागि तीन टेस्ट वा आठ वानडे वा टी–२० खेल्नु पर्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.