सन्दीप विकेटबिहीन भएको खेलमा होबर्ट विजयी

बिग बास लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछाने पुनः एक पटक विकेटबिहीन भएका छन् । शुक्रबार भएको खेलमा सन्दीप पूर्वक्लब मेलबर्न स्टार्सविरुद्ध विकेटबिहीन भएका हुन् । उनलृे मेलबर्नविरुद्ध ४ओभरमा ३२ रन खर्चिए।

सन्दीप विकेट बिहीन भएपनि उनको टिम होबर्ट हुरिकेन्स २४ रनले विजयी भएको छ। हुरिकेन्सले दिएको १८१ रनको लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो।

मेलबर्नका जो क्लार्कले सर्वाधिक ५२ रन जोडे। उनले ४० बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, हिल्टन कार्टराइट २६, जो बन्स २२ रनको योगदान दिए ।
होबर्टका राइली मेरिडेथ र थोमस रेजर्सले समान ३ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ थालेको होबर्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। उसका ओपनर बेन म्याकडेरमोटले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ४३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

यस्तै, कप्तान म्याथ्यु वेडले ३९, डार्सी शर्ट २६ र टिम डेविडले २२ रन जोडे। मेलबर्नका आन्द्रे रसेलले ३ तथा नाथन कुल्टर नाइलले २ विकेट लिए।

यो जितपछि होबर्ट ५ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। यता, मेलबर्न भने ७ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ।

Facebook Comments Box