एलिमिनेटरमा काठमाडौंमाथि भैरहवाको जित, फाइनल प्रवेशका लागि पोखरासँग खेल्ने

चौथो संस्करणको इपिएलको एलिमिनेटर खेलमा भैरहवा ग्लाडियटर्स विजयी भएको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा भैरहवाले काठमाडौं किंग्स इलाभेनमाथि १६ रनको जित निकाल्यो ।

यो जितसँगै भैरहवाले क्वालिफायर २मा आफ्नो स्थान पक्का गरेको छ । क्वालिफायर २मा उसले पोखरा राइनोजसँग खेल्ने छ । पोखरा क्लालिफायर १मा चितवन टाइगर्ससँग पराजित भएको थियो। भैरहवा र पोखराबीचको खेल बिहीबार हुनेछ।

कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गर्दै भैरहवाले दिएको १८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७२ रन मात्र बनाउन सक्यो । उसका लागि एसान प्रियन्जनले ४८ बलमा ६८ रन बनाए । उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, जनक प्रकाश १४ बलमा २८ रन बनाउँदाअमित श्रेष्ठ १९, दिनेश अधिकारीले १५ र राजु रिजाल १०मात्र बनाउन सके । भैरहवाबाट धमिका प्रसाद, आरिफ शेख र कुशल मल्लले २–२ तथा दुर्गेश गुप्ताले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । त्रिवि क्रिकेट मैदानमा कप्तान शरद भेषावकरले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४९ रन बनाई भैरहवालाई मजबुत स्थितिमा उभ्याए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

भैरहवाबाट तामिम इक्बाल ९ रनै आउट भएपछि अर्का ओपनर प्रदीप ऐरीले २७ बलमा ६ चौका र १ छक्का प्रहार गरी ३९ र उपुल थाराङ्गाले ५ चौका प्रहार गर्दै ३३ बलमा ३५ रन जोडे । कुशल मल्लले चार छक्का प्रहार गर्दै २० बलमा ३२ रन जोडे । आरिफ शेख ८ बलमा १ चौका र १ छक्का प्रहार गरी १५ रन बनाए

काठमाडौंका असान प्रियन्जन र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

Facebook Comments Box