वर्षाले विथोल्यो इपिएलको दोस्रो खेल, फाइदामा पोखरा, भैरहवालाई घाटा

चौथो संस्करणको इपिएलअन्तर्गत आइतबार दोस्रो वर्षाले विथोलेको छ। कीर्तिपुरस्थित टियू मैदानमा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेल रद्द भएको छ।

वर्षाले खेल रद्द भएपछि फाइदा पोखरालाई भएको छ भने खेलमा हाबी भएको भैरहवालाई भने घाटा भएको छ।

वर्षाले खेल रोकिँदा टस जितेर ब्याटिङ रोजेको पोखराले १०.१ ओभरमा ६७ रन बनाउँदा ७को गुमाएको थियो। पोखराले १२ रन बनाउँदै ५ विकेट गुमाएको थियो । उसका रिचार्ड लेवी शुन्य रनमा आउट हुँदा कप्तान विनोद भण्डारी, लोकेश बम र केस्रिक विलियम्स गोल्डेन डकआउट भएका थिए ।

यस्तै, सुनिल धमला १ र विपिन रावल ६ रनमा आउट भएका थिए । असेला गुरुरत्नेले १६ बलमा २३ र विवेक यादवले १६ बलमा १६ रन बनाएका थिए।

पोखराको इनिङ धरासायी बनाउने क्रममा दुर्गेस गुप्ताले घातक बलिङ गरे। उनले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। यस्तै धमिका प्रसादले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिँदा तुलबहादुर थापा र अविनाश बोहराले पनि समान १ विकेट लिए।

प्रतियोगिताअन्तर्गत सोमबार हुने पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलावेनसँग खेल्ने छ भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससले चितवन टाइगर्सको सामना गर्ने छ।

Facebook Comments Box