
उपाधि जित्न विराटनगरलाई १३४ रनको लक्ष्य
नेपाल टि–२० लिगको उपाधि जित्न विराटनगर सुपर किंग्सले १३४ रनको मध्यम लक्ष्य पाएको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेका लुम्बिनी अल स्टार १३३ रनमा आउट भयो।
विराटनगरका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी १९.२ ओभरमा अलआउट भयो । उसका लागि लहिरु मिलन्थाले २८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४१ रन बनाए भने हार्मप्रित सिंहले १८ बलमा ३ चौका र २ छक्का प्हार गर्दै ३० रन बनाए।
यी दुईले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै लुम्बिनीलाई राम्रो सुरुआत दिएका थिए। तर, त्यसपछि लुम्बिनीले लागातार विकेट गुमाउँदै मध्यम स्कोरमै समेटियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
विराटनगरका नन्दन यादव र राज रक्की नन्ननले समान २ विकेट लिँदा हुसैन टलट, सूर्य तामाङ, किओन जोसेफ र रोहित पौडेलले समान १ विकेट लिए।