सन्न्यास फिर्ता लिएका ब्राभोको विश्वकप खेल्ने चाहना

वेस्टइन्डिजका स्टार क्रिकेटर ड्वायन ब्राभो ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छन् । सन् २०१६ यता अन्तर्राष्ट्रिय क्रिकेटमा नदेखिएका ब्राभोले सन् २०१९ डिसेम्बरमा अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका थिए । ब्रभोले भर्खरै मात्र सन्न्यास फिर्ता लिएका थिए । उनले यसैवर्ष अस्ट्रे्लियमा हुने टि–२० विश्वकपका लागि आफ्नो निर्णय पुनर्विचार गरेको बताएका छन् ।

ब्राभोले सन् २०१६ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध खेलेयता वेस्टइन्डिजबाट खेलेका छैनन् । सन्न्यास फिर्ता लगत्तै वेस्टइन्डिज क्रिकेट बोर्डले ब्राभोलाई आयरल्यान्ड भ्रमणका लागि टिममा बोलाएको छन् । एकदिवसीय र टी–२० सिरिजका लागि आयरल्यान्ड पुगेको वेस्टइन्डिजले टी–२० सिरिजमा ब्राभोलाई पनि टिममा राखेको छ । आयरल्यान्डमा वेस्टइन्डिजले ३ टी–२० खेल खेल्ने छन् । टी–२० सिरिज जनवरी १५ बाट सुरु हुने छ ।

ट्रिनडाडको एक रेडियोसँग कुरा गर्दै बाभ्रोले पुनः राष्ट्रिय टिममा बोलाउँदा आफूलाई पनुः बच्चाजस्तो महसुस भएको बताएका छन् । ‘जब प्रमुख चयनकर्ता रोजर हार्परले मलाई राष्ट्रिय टिमका लागि बोलाए, तब मैले पुनः बच्चाजस्तो महसुस गर्न थालेँ ।’ ब्राभोले भने, ‘यो एउटा यस्तो मौका हो, जुन मेरो मानसपटमा सधैं रहिरहने छ । वेस्टइन्डिजका लागि फेरि खेल्न पाउँदा म एकदमै खुसी छु । र, म उत्कृष्ट प्रदर्शनका लागि उत्साहित छु ।’

अन्तर्राष्ट्रिय क्रिकेट नखेले पनि ब्राभोले फ्रेन्चाइज क्रिकेटमा खेलिरहेका छन् । गतवर्ष क्यारेबियन प्रिमियर लिगका क्रममा औंलामा चोट लागेपछि उनी दुबईमा भएको टि–१० लिगमार्फत क्रिकेटमा फर्किएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए पनि आफ्नो फिटनेसलाई लिएर भने चिन्तित छन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको छु, यो मेरा लागि महत्वपूर्ण हो । फिटनेशलाई लिएर भने चिन्तित छु ।’ ब्राभोले भने, ‘विगत ३ वर्षमा धेरै क्रिकेट खेल्न पाइनँ । यसले फिटनेशमा केही समस्या देखिएको छ । फिटनेश सुधारका लागि अभ्यास सुरु गरिसकेको छु । म पुनः पहिलाकै स्तरमा पुग्न गर्नेछु र देशका लागि पुनः उत्कृट योगदान दिने छु ।’

ब्रभोले वेस्टइन्डिजका लागि ४० टेस्ट, १६६ एकदिवसीय र ६६ टी–२० म्याच खेलेका छन् । जसमा उनले टेस्टमा ३ शतक र १३ अर्धशतकसहित २२ सय रन बनाएका छन् भने ८६ विकेट लिएका छन् । एकदिवसीयमा उनले १ शतक र १० अर्धशक प्रहार गर्दै २ हजार ९ सय ६८ रन बनाउनुका साथै १९९ विकेट पनि लिएका छन् । टी–२० ब्राभोले १ हजार १ सय ४२ रन बनाउनुका साथै ५२ विकेट लिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.