नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ। बिहीबार एक सूचना निकाल्दै क्यानले साधारणसभा असोज ५ र ६ गते नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा हुने जनाएको छ।
अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्नेछ। अधिवेशनबाट वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै नेतृत्वमा आउने सम्भावना छ। चन्दलाई कोषाध्यक्ष रोशनकुमार सिंहले चुनौती दिन सक्नेछन्।
अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन्।