क्यानले आइसीसीलाई भन्यो- ‘यु–१९ विश्वकपको एसिया छनोट हामी आयोजना गर्छौं’

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई यु–१९ विश्वकप एसिया छनोट आयोजना गर्ने प्रस्ताव गरेको छ। एसिया छनोटमा नेपालसहित युएई, ओमान, सिंगापुर, कुवेत र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।

सेप्टेम्बर अन्तिममा हुने एसिया छनोट यसअघि युएईमा आयोजना गर्ने आइसीसीको योजना थियो। तर, कोभिड–१९ का कारण इन्डियन प्रिमियर लिग (आइपीएल) का बाँकी खेल तथा टि२० विश्वकप युएईमा आयोजना गर्ने निर्णय भएपछि आइसीसी विश्वकप छनोटका लागि नयाँ गन्तव्यको खोजीमा थियो।

यसै क्रममा क्यानले साप्ताहिक भर्चुअल मिटिङका दौरान आइसीसी समक्ष नेपाल एसिया छनोट आयोजना गर्न सक्षम रहेको बताउँदै प्रतियोगिता आयोजनाको प्रस्ताव राखेको हो। लकडाउनका बावजुद केही घरेलु प्रतियोगिता तथा ट्राइनेसन्स सिरिज आयोजना गर्न सफल रहेका कारण क्यान विश्वकप छनोट पनि आयोजना गर्न सक्षम रहेकोमा विश्वस्त छ।

यु–१९ क्रिकेट विश्वकप सन् २०२२ मा वेस्ट इन्डिजमा आयोजना हुँदैछ। १६ देश सहभागी हुने उमेर समूहको विश्वकपमा छनोट खेल्नेमध्ये एउटा टिमले मात्र स्थान पाउनेछ। कोभिड–१९ महामारीका कारण अगाडी हुने भनिएको एसिया छनोट सेप्टेम्बरमा सारिएको थियो।

आइसीसीले विभिन्न सम्भावित आयोजना स्थलको कोभिड–१९ को वर्तमान अवस्था तथा पूर्वाधारको अध्ययन गरेर छनोट आयोजना गर्ने देशको टुंगो लगाउनेछ।

नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि त्रिभुवन विश्वविद्यालय स्टेडियममात्र छ। दुईवटा स्टेडियम चाहिएमा पोखरा रंगशालालाई पनि छनोट खेलका लागि तयार गर्न सकिने क्यानले जनाएको छ।

Facebook Comments Box