मुम्बईमाथि चेन्नई २० रनले विजयी

कोरोना भाइरसका कारण बीचमै रोकिएको इन्डियन प्रिमियर लिग (आईपिएल)को १४औं संस्करणका बाँकी खेल आजबाट दुबईमा सुरु भएको छ। दुबईमा पहिलो दिन डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिडे।

यो खेलमा चेन्नई २० रनले विजयी भयो । पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो ।

नियमित कप्तान रोहित शर्माविना मैदान उत्रिएको मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ५० रन बनाए। उनले ४० बलमा ५ चौका प्रहार गरे।
यस्तै, क्वेन्टन डि ककले १७, अनमोलप्रित सिंहले १६ र कप्तान केइरन पोलार्डले १५ रन बनाए । चेन्नईका ड्वायन ब्राभोले ३ विकेट लिए भने दीपक चहरले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले ओपनर रुतुराज गायकवाडको एकल प्रयासमा निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनायो । उसका गायकवाडले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ८८ रन बनाए ।

यस्तै, रविन्द्र जडेजाले २६ र ड्वायन ब्राभोले २३ रन बनाए । उसका फाफ डु प्लेसिस, मोइन अली र अम्बाती रायाडु भने शुन्यरनमै आउट भएका थिए। मुम्बईका ट्रेन्ट बोल्ड, एडम मिल्ने र जस्प्रित बुमराहले सामान २ विकेट लिए।

जितसँगै चेन्नई ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। १२ अंक नै जोडेको दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ ।८ अंक जोडेका मुम्बई चौथो स्थानमा छ।

Facebook Comments Box