इपिएलमा यस्तो हुनेछ चिवतनको टिम, प्रभु पे मुख्य प्रायोजक

एभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरू हुन तीन साता बाँकी रहँदा चितवन टाइगर्सले टिम घोषणा पनि गरेको छ । बुधबारको कार्यक्रममा सोमपाल कामी मार्की खेलाडी तथा कप्तान रहेको २० सदस्यीय टोली घोषणा गरिएको हो । टोलीमा १५ खेलाडी घरेलु र ५ विदेशी खेलाडी छन् ।

पछिल्लो समय अफगानिस्तानका करिम जन्नतलाई अनुबन्ध गरिएको टाइगर्सले जनाएको छ । यसअघि अफगानिस्तानकै मोहम्मद साहजाद, श्रीलंकाका सेकुगे प्रसन्न, पाकिस्तानका डानिस अजिज र मलेसियाका वीरनदीप सिंह अनुबन्धित भइसकेका छन् ।

घरेलु खेलाडीमा कप्तान सोमपालसहित कमलसिंह ऐरी, शाहब आलम, ईशान पाण्डे, ललितसिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामीमगर, हसिम अन्सारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् ।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेबारीमा सामसन जंग थापा छन् । दिल्लीका पूर्व क्रिकेटर तथा आईसीसी लेभल २ प्रशिक्षक पुरु सिंहलाई टाइगर्सले व्यवस्थापक तथा सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टिम चितवन टाइगर्सले मुख्य प्रायोजकका रूपमा प्रभु पेसँग बुधबार सम्झौता गरेको छ । ईपीएलको आसन्न सिजनका लागि चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौतामा हस्ताक्षर गरे ।

ट्वान्टी–२० मा हुने चौथो संस्करणको ईपीएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । प्रतियोगितामा चितवनले यसपालि उपाधि जितलाई प्रमुख लक्ष्य बनाएको छ ।

सम्झौतापछि डिजिटल भुक्तानी माध्यम प्रभु पेकी प्रमुख कुसुम लामाले नेपाली खेलकुदको विकास र खेलाडीको क्षमता तथा स्तर वुद्धिका लागि लगानी गरिएको बताइन् । यसअघि ह्विलचियर बास्केटबल प्रतियोगितामा प्रायोजन गरेपछि खेलकुदमा सहयोग गर्न आफूहरू उत्साही भएको उनले सुनाइन् ।

Facebook Comments Box