न्युजिल्यान्ड पहिलो पटक टि–२० विश्वकपको फाइनलमा

न्युजिल्यान्ड पहिलो पटक टि–२० विश्वपको फाइनलमा पुगेको छ। बुधबार अबुधाबीमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो।

अबुधाबीमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डलाई पहिलो पटक फाइनल पुर्याउने क्रममा डार्यल मिचेलले उत्कृष्ट ब्याटिङ गरे।

नटआउट ७२ रनको इनिङ खेलेका मिचेलले ४७ बलमा समान ४ चौका र छक्का प्रहार गरे । यस्तै, डेभोन कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए भने विस्फोट इनिङ खेलेका जेम्स निसमले ११ बलमा २७ रन बनाए।

इंग्ल्यान्डका क्रिस वक्सले ४ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए भने लियम लिभिङ्सटन ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यस्तै, अदिल रसिदले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मोइन अलीको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । अलीले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै, डेविड मलानले ३० बलमा ४१ रन बनाउँदा जोस बट्लरले २९ र लिविङ्सटनले १७ रनको योगदान दिए। न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्स निसम र इश सोधीले समान १ विकेट लिए।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइलन दुबईमा आइतबार हुने छ।

Facebook Comments Box