जम्पा र वार्नर चम्किँदा अस्ट्रेलियाको लागतार दोस्रो जित

स्पिनर एडम जम्पा र ओपनर डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गरेपछि टि–२० विश्वकपमा अस्ट्रेलियाले लागतार दोस्रो जित निकालेको छ। बिहीबार राति भएको एक मात्र खेलमा जम्पा र वार्नर चम्किएपछि अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हरायो।

पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि वार्नरले सर्वाधिक ६५ रन बनाए। उनले ४२ बलमा १० चौका प्रहार गरे। यस्तै, कप्तान आरोन फिन्चले फिन्चले २३ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ३७ रन बनाए ।

यस्तै, स्टिभ स्मिथले २८ र मार्कस स्टोइनिसले नटआउट १६ रन बनाउँदा श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दासुन सन्नाकाले १ विकेट लिए।

दुबईमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। उसका लागि कुशल परेरा र चरिथा असालंकाले समान ३५ रन बनाए भने भानुका राजापक्षले नटआउट ३३ रनको योगदान दिए।

अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले समान २ विकेट लिए । जम्पाले ४ ओभरमा १० रन मात्र खर्चिए भने स्टार्कले २७ र कमिन्सले ३४ रन खर्चिए ।

सुपर १२ को समूह १ का अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ । यसअघि उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो। दुई खेल नै जितेको इंग्ल्याण्ड रनरेटका आधारमा शीर्ष स्थानमा छ। यता, श्रीलंका २ अंक जोड्दै चौथो स्थानमा छ।

Facebook Comments Box