पृथ्वी शको उत्कृष्ट ब्याटिङमा दिल्लीको सहज जित

पृथ्वी शले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा शले ८२ रनको इनिङ खेलेपछि दिल्लीले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सहज जित निकाल्यो ।

अहमदावादमा बिहीबार राति भएको खेलमा कोलकताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । दिल्लीको जितमा ओपनर पृथ्वी शले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै ८२ रन बनाए ।

यस्तै अर्का ओपनर शिखर धवनले ४७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । धवन र शले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। कप्तान ऋषव पन्त १६ रन बनाएर आउट भए । कोलकाताका लागि ३ विकेट नै प्याट कमिन्सले लिए ।

पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । कोलकाता लागि आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाए । भने सुभमन गिलले ४३ रन जोडे ।

नटआउट रहेका रसेलले २७ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे भने गिलले ३८ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । दिल्लीका अक्सर पटेल र ललित यादवले समान २ विकेट लिए।

जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । १० अंक जोडेको दिल्लीले समान अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लेरलाई रनरेटमा पछि पारेको छ। शीर्ष स्थानको चेन्नइृको पनि समान १० अंक नै छ र ऊ रनरेटमा अघि छ । ४ अंक मात्र रहेको कोलकता पाँचौ स्थानमै यथावत छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.