विराटनगर पुगेर वाटमोरले भने– नेपाली खेलाडीमा प्रतिभाको कुनै कमी छैन

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेभ वाट्मोरले नेपाली खेलाडीमा प्रतिभाको कुनै कमी नभएको बताएका छन् ।

राखेपको सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान)ले ‘हाईपर्फमेन्स क्रिकेट क्लिनिक’मा सहभागी हुन विराटनगर पुगेका वाट्मोरले नेपाली खेलाडीलाई व्यवहारिक ज्ञान दिन आवश्यक रहेको बताए।

उनले ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’मा सहभागीलाई उचित आवश्यक सिप र व्यवहारिक ज्ञान दिने बताए । वाट्मोरले १२ र १३ गते प्रदेश १ का खेलाडी र प्रशिक्षकलाई वैजनाथपुर क्रिकेट मैदानमा प्रशिक्षण दिने छन् भने १४ गते विभिन्न क्लबको खेल अवलोकन गर्ने छन्।

‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’मै सहभागी हुन विराटनगर पुगेका राखेपाका प्रशिक्षक जगत टमटाले विश्वकप जिताइसकेका वाट्मोरबाट सीप सिक्न सुनौलो अवसरमा पाएकोमा खुशी गरे ।

यस्तै, वाट्मोर र टमटालाई स्वागत गर्दै मोरङ जिल्ला क्रिकेट संघका नवीन घिमिरे, प्रदेशका चण्डिका बाँस्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा वाट्मोरको प्रशिक्षण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।

क्यानले राखेपको सहकार्यमा सातै प्रदेशमा ‘हाई पर्फमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । क्लिनिक प्रत्येक प्रदेशमा ४ दिन सञ्चालन हुने छ।

स्थानीय खेलाडीलाई क्रिकेटरमा आकर्षित गर्ने क्लिनिकको लक्ष्य रहेको क्यानको भनाइ छ। प्रशिक्षक वाटमोरको फुर्सदको समयलाई सदुपयोग गर्दै क्यानले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.