अस्ट्रेलियाविरुद्ध भारतको सानदार जित

विश्वपक क्रिकेटको पावर हाउस अस्ट्रेलियाविरुद्ध भारतले सानदार जित हात पारेको छ । १२औं संस्करणको एकदिवसीय विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो । यसअघि भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको थियो ।

यता, अस्ट्रेलियाको पनि यो पहिलो हार हो । यसअघिका दुवै खेलमा अस्ट्रेलिया विजयी भएको थियो । पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा वेस्टइन्डिजलाई १५ रनले हराएको थियो ।

दोस्रो जितसँगै भारत तेस्रो स्थानमा

केनिङ्घटन ओभल लन्डनमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेसँगै भारत अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।

यसैगरी ३ खेलमा २ जित हात पारेको आयोजक इंग्ल्यान्ड रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ भने ३ खेलमा ४ अंक नै जोडेको अस्ट्रेलिया चौथो, ३ खेलमा समान ३ अंक जोडेका श्रीलंका र पाकिस्तान क्रमशः पाचौं र छैठौं स्थानमा छन् ।

समान २ अंक जोडेका वेस्टइन्डिज र बंगलादेश क्रमशः सातौं र आठौं स्थानमा रहँदा अंकबिहीन रहेका दक्षिण अफ्रिका र अफगानिस्तान नवौं र दशौं स्थानमा छन् । दुवैले ३–३ खेल गुमाएका छन् ।

धवनको शतक, कोहली र रोहितको अर्धशत

टस जितेर पहिला ब्याटिङ गरेको भारतले ओपनर शिखर धवनको सानदार शतकको मद्दतमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५२ रनको विशाल योगफल बनायो ।

मिचेल स्टार्कको बलमा सफ्टिच्यूट फिल्डर नाथन लियोनद्वारा क्याच आउट हुनुअघि धवनले उत्कृष्ट इनिङ खेल्दै ११७ रन बनाए । उनले १०९ बल खेल्दै १६ चौका प्रहार गरे । यो जारी विश्वकमा एक इनिङमा कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक चौका हो ।

१२औं संस्करणको विश्वकपमा शतक प्रहार गर्ने धवन छैठौं खेलाडी बने भने दोस्रो भारतीय खेलाडी बने । जारी विश्वकपमा इंग्ल्यान्डका जोए रुट, जोस बट्लर, जेसन रोय, बंगलादेशका सकिब अल हसन र भारतका रोहित शर्माले शतक बनाएका छन् ।

भारतलाई ठूलो स्कोरतर्फ लैजान कप्तान विराट कोहली र रोहित शर्माले पनि अर्धशतकीय इनिङ खेले । मार्कस स्टोइनिसको बलमा अन्तिम ओभरमा आउट हुनुअघि कोहलीले ७७ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए ।

यस्तै, रोहितले ७० बलमा ३ चौका र १ छक्काको सहयोगमा ५७ रन बनाए । भारतका हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४८ रन बनाए भने महेन्द्रसिंह धोनीले २७ र केएल राहुले ११ रन बनाए ।

अस्ट्रेलियाका मार्कस स्टोइनिसले सर्वाधिक २ विकेट लिए भने पाट कमिन्स, मिचेल स्टार्क र नाथन कुल्टर निलले समान १ विकेट लिए ।

अस्ट्रेलियाविरुद्ध रोहितको छिटो २ हजार रन

भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध सर्वाधिक छिटो २ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । आइतबार भएको खेलमा ५७ रन बनाएका रोहितले अस्ट्रेलियाविरुद्ध ३७ इनिङ खेल्दै २ हजार रनको आँकडा पार गरे ।

यो कुनै पनि टिमविरुद्ध ओडिआईमा ब्याट्सम्यानले बनाएको सर्वाधिक छिटो २ हजार रन पनि हो । यसअघि सचिन तेन्दुरलकरले अस्ट्रेलियाविरुद्ध ४० इनिङमा २ हजार रन बनाएका थिए भने कोहलीले श्रीलंकाविरुद्ध ४४ इनिङमा, वेस्टइन्डिजका भिभ रिचड्सले ४४ इनिङमै अस्ट्रेलियाविरुद्ध र महेन्द्रसिंह धोनीले श्रीलंकाविरुद्ध ४५ इनिङ खेल्दै २ हजार रनको आँकडा पार गरेका छन् ।

अस्ट्रेलियाविरुद्ध विश्वकपमा सर्वाधिक रन

लन्डनमा आतइबार भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध ३५२ रनको विशाल स्कोर बनायो । यो विश्वकप क्रिकेटमा अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै बनाएको सर्वाधिक रन हो । यसअघि अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै कुनैपनि टिमले ३ सय रन कटाउन सकेका थिएनन् ।

अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्दै सन् १९७५ मा वेस्टइन्डिजले २९१, सन् १९८७मा भारतले २८९, सन् १९७९मा पाकिस्तानले २८६ र सन् १९९६ मा न्युजिल्यान्डले २८६ रन बनाएका थिए ।

क्यारीको ‘फास्टेट फिप्टी’

३५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई अन्तिमसम्म जितको आशा जिवित राख्ने क्रममा विकेट किपर ब्याट्सम्यान एलेक्स क्यारीले नटआउट ५५ रनको इनिङ खेले । अस्ट्रेलियाले इनिङको अन्तिम बलमा अलआउट हुँदै ३१६ रन मात्र बनायो ।

आक्रामक व्याटिङ गरेका क्यारीले २५ बलमा अर्धशक बनाए । यो जारी विश्वकपको सर्वाधिक छिटो अर्धशतक हो । नटआउट रहेका उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रन बनाए । उनले ७० बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै ओपनर डेभिड वार्नरले ८४ बलमा ५६, उस्मान ख्वाजाले ३९ बलमा ४२, कप्तान आरोन फिन्चले ३५ बलमा ३६ र ग्लेन म्याक्सवेलले १४ बलमा २८ रन बनाए ।

भारतका लागि जस्प्रित बुमराह र भुवनेश्वर कुमारले समान ३ विकेट लिए । बुमराहले १० ओभरमा १ मेडनसहित ६१ रन खर्चिए भने भुवनेश्वर कुमार ५० रन खर्चिए । यस्तै, युजभेन्द्र चहलले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP